©सुमन भट्टराई।
केही समय पहिलेको कुरा हो- व्यवस्थापन संकायमा स्नातक गर्दै गरेको म ठमेलको एउटा होटलमा रिसेप्सनिष्टको रुपमा नोकरी पनि गर्थेँ। बिहानी सिफ्टको कलेज अटेन्ड गर्न सहज हुने गरी होटलमा रात्रीकालिन ड्युटी मिलाएको थिएँ। रातीको ड्युटी सकेर बिहानै कलेज जान्थेँ, र कलेज सकिने बित्तिकै हतार हतार गर्दै अस्पताल पुग्थेँ। दिनभर अस्पतालमा रहन्थेँ र साँझमा फेरि होटल जान्थेँ।
लगभग बिहानको एघार बजेको थियो। क्लास सकिएपछि कलेजबाट निस्किएर अस्पतालतिर लागेँ। सदा झैँ ऊ मेरै प्रतीक्षा गरिरहेकी थिई। म पुग्ने बित्तिकै मुसुक्क हाँसी, तर मुहार खासै उज्यालो थिएन। रुन्चे नै थियो। शैयामा सुतिरहेकी उसको नजिकै गएँ र हग गरेँ। बल्ल अलि उज्यालियो उसको अनुहार।
उसलाई राइस मन नपर्ने; अलिकति पनि खान सक्दिन थिई। त्यसैले लन्चमा रोटी र दालफ्राई खुवाएँ। उसको शैया छेवैको कुरुवा टुलमा बसेर होमवर्क गर्दा गर्दै मलाई निन्द्राले झप्प छोप्यो। केही घण्टा उसकै शैयामा टाउको राखेर निदाएँ।
४ बज्न लाग्दा नर्स आईन् र ब्युँझाईन्, "उहाँलाई अौषधि दिने बेला भो, खाजा खुवाउनु भयो?"
"सरी डक्टर, म निदाएछु। एकछिनमा आउनुस् न है? म उसलाई केही खुवाइहाल्छु।"
"खाजा के ल्याउँ, आश्मा?" उसलाई सोधेँ।
"जे ल्याए पनि हुन्छ, आलोक!" ऊ सुस्तरी बोली।
"के खान मन छ, भन त! मैले आज तलब लिएको दिन; मन लागेको खाने कुरा भन, म लिएर आउँछु।"
मेरो पहिलो महिनाको तलब आएको थियो त्यस दिन। उसको उपचारमा सहज होला भनेर नै मैले नोकरी गर्न थालेको थिएँ। यो नोकरी मैले हस्पिटालिटी सेक्टरमै काम गर्दै आएका गाउँकै एकजना दाईलाई अनुरोध गरेर बल्लतल्ल पाएको थिएँ।
खान बस्न त बुवा आमाले पठाएको पैसाले नै पुग्थ्यो मलाई। हाम्रो प्रेमको बारेमा उहाँहरूलाई मैले थाहा दिएको थिइनँ। र नोकरी गर्न थालेको कुरा पनि भनेको थिइनँ। यो कुरा उहाँहरूलाई भन्यो भने कि त `पढाइ बिग्रिन्छ नोकरी नगर´ भन्नुहोला कि चैँ पैसा पठाउनै छोड्नुहोला भन्ने डर थियो। तर यस्तो म कदापि चाहन्नथेँ किनकी नोकरी नगरी उहाँहरूले पठाएको पैसाले मात्रै खान बस्न सहित उसको उपचार सम्भव हुने थिएन।
"कति गर्छौँ आलोक तिमी मेरो लागि? अब म कहिल्यै ठिक हुँदिन। छोडिदेऊ मलाई।" उसले पिलिक्क आँसु झारी।
केही महिना अघि आएको महाभूकम्पमा परि उसको बुवा, आमा र भाइ सबैको ज्यान गएको थियो। ऊ भने धन्न-धन्नले बाँची। मेरुदण्डको तल्लो भागमा गहिरो चोट भएका कारण उसको शरीरका धेरै अङ्गहरू नचल्ने भएका थिए, जसकारण उसलाई प्यारालाइसिस भएको थियो। ठिक गर्न सकिने केही सम्भावना भएको भन्दै डक्टरहरूले उसलाई एक वर्षसम्म अस्पतालमै राख्न सुझाएका थिए। विचरीलाई कस्तो लेखेको रहेछ, कति कमजोर भएकी थिई। उसको यो हाल भएकै कारण शारीरिक रुपमा ऊ फुर्सदमा थिई; तर यस किसिमको फुर्सदमा मान्छेको मन र दिमाग भने एकदम अस्थिर र व्यस्त हुने रहेछ। सायद त्यसैले उसले `मलाई छोडिदेऊ´ भनेकी होली।
उसले यस्तो भनेको सुन्नै नसकेर थोरै आक्रोशित हुँदै मैले भनेँ, "तिमीलाई छोड्न सक्ने भए अहिलेसम्म म यो सब गरिरहन्थेँ? आइन्दा मेरो अगाडि यस्तो शब्द झुक्किएर पनि नबोल्नू!"
तलब थापेर सन्तोषपूर्ण अनुहार लिएर अस्पताल पुगेको मलाई उसले एकैछिनमा भावुक बनाई।
पुन: सम्हालिँदै "भन न, के खान मन छ?"भनेर सोधेँ।
"खान मन त पिज्जा छ तर धेरै पैसा खर्च हुन्छ; जाऊ- चिया र ब्रेड लिएर आऊ।"
"हुन्छ।" भनेर त्यहाँबाट निस्किएँ र पिज्जा नै लिएर आएँ। `महिनामा कमसेकम एक पटक त मन लागेको कुरा खान दिन सकूँ।´ सुरुमा त `किन ल्याउनुपर्थ्यो´ भनी तर एकैछिनमा खुसीले पुलकित भई र मीठो मानेर खाई।
मैले पनि आफ्नो भोकाएको पेट ऊसँगै भरि पारेँ।
यसरी हरेक प्रेम जोडीको डेटिङ स्पट बार हुँदैन, गेष्ट हाउस वा रुफटप रेष्टुरेन्ट पनि नहुन सक्छ। कसैको प्रेम साटासाट गर्ने स्थान त अस्पताल पनि हुनसक्छ।
.......
एकदिन म सैलुनमा थिएँ। आफ्नो कपाल कटाउने पालो कुरेर कान्तिपुरको हेडलाईनतिर चाहार्दै थिएँ। म भन्दा अगाडि एउटा १३/१४ वर्षको भाइ आधा कपाल काटिएको अवस्थामा थियो। त्यसैबीच कैँची चलाइरहेका हजाम दाइ कैँची फ्यालेर उफ्रिँदै सैलुन बाहिर निस्किए र भाग्न थाले। आधा टाउको मुडुलै लिएर त्यो भाइ पनि हजामकै पछिपछि दगुर्यो। आरामदायी कुर्सीमा बसिरहेको हुनाले सुरुमा त मैले केही मेसो पाईँन। र पनि के भएछ भन्ने कौतुहलताका साथ उनीहरुकै पछि पछि दगुरेँ।
ठ्याक्कै सैलुन अगाडिको सडकमा पुग्दा नपुग्दै सडक जुरुक्क उचालियो। बल्ल पो थाहा भयो- भूकम्प आएको रहेछ। एकैछिनमा यसले भयानक रुप लियो। अचेतनमै अगाडिको बिजुलीको पोल समात्न पुगेछु, धन्न करेन्ट त आएको थिएन। त्यसलाई पक्रिरहनु एकदम खतरापूर्ण भने अवस्य थियो। र पनि त्यहाँबाट भाग्न सकिनँ किनकी हात छोड्ने बित्तिकै म सडकमा पछारिने थिएँ। छैउमै लुखुरे पिल्लरको भरमा उभिएको प्रतीक्षालय थियो, जुन अहिले भर्खरै भाचिउँला जसरी हल्लिरहेको थियो। वरिपरिका भवनहरू पनि मेरै टाउको माथि खसुँला जसरी सडक वारिपारी पिङ खेलिरहेका थिए।
उता सैलुनका दाइ सडकमै पछारिएछन्, उनको टाउकोबाट रगत बगिरहेको थियो। हुन सक्छ उनी बेहोस भएका थिए र सायद मृत नै। हल्लिन अलिक कम भएपछि म खुला मैदानतिर भागेँ। यस्तो बेला आफ्नो भन्दा बढि अरुको माया नलाग्दो रहेछ र आफूभन्दा सिवाय अरुमाथि ध्यान पनि नजाँदो रहेछ। जीवनमा पहिलो पटक यति ठूलो भूकम्प महसुस गर्दैँ थिएँ र आँफै अगाडि त्यस्तो अवस्थामा ढलिरहेको अर्को व्यक्ति यानिकी हजाम दाईको पुरै बेवास्ता गर्दै भागिरहेको थिएँ। अरु बेला त यति स्वार्थी म कहिल्यै थिइनँ। कहिलेकाहीँ परिस्थितिले पनि मान्छेलाई निर्दयी बन्न बाध्य पार्दो रहेछ।
सामाखुसी बस्ने म त जसोतसो बाँचेँ। उता टोखा बस्दै आएकी आश्माको हालत कस्तो होला? कम्पन कम हुने बित्तिकै सम्झिएको पहिलो अन्तरव्यक्ति ऊ नै थिई। मोबाइल निकालेँ र फोन गर्न खोजेँ। नेटवर्क काटिएको रहेछ। बुबाआमालाई कस्तो होला? यादहरुको तालिकामा दोस्रो स्थानमा उपस्थित भएका पात्रहरू।
निकैबेरसम्म कतै सम्पर्क हुन नसकेपछि हतासिँदै म टोखातिर लागेँ। ठाउँठाउँमा रोडै छेकिने गरि घरहरू भत्किएका, बिजुलीका पोलहरू ढलेका तथा तारहरू चुट्टिएका दृश्यले मन झनै अतालियो। मानिसहरूको भिडभाड सडक तथा खालि स्थानतिर कोलाहलपूर्ण थियो। यद्यपि यी सबै दृश्यहरू भन्दा मलाई उसको अवस्थाबारेको चिन्ताले बढि तानिरहेको थियो।
उसको घर अगाडि के पुगेको मात्रै थिएँ, मेरो होसहवास उड्यो। थुचुक्क बस्न पुगेछु। उसको घर पूर्ण रुपमा भत्किएको थियो। त्यसैक्षण मेरा हालगोडा लल्याक लुलुक भए। जसोतसो उठेर नजिकै गएँ। सामान्य घरमा सस्तो भाडामा बस्दै आएकी ऊ मूल ढोकामा कम्मर भन्दा तल थिचिएको र माथि रगताम्मे अवस्थामा ढलिरहेकी थिई।
त्यहाँ नजिकै कोही देखिँदैन थिए। अलिक पर खुला चौरमा मान्छेहरूको ठूलै झुण्ड देखेपछि म त्यतातिर लागेँ र गुहार मागेँ। एकजना अधबैंसे दाइ सहयोग गर्न राजी हुनुभयो, र आफ्नो बाईक लिएर आउनुभयो। इँट्टा र सिमेन्टले थिचिएको अवस्थाबाट उसलाई जसतसो निकाल्यौँ। कम्मरभन्दा तल कच्याककुचुक कुच्चिएर हेरि नसक्नु थियो। उचालेर बाइकको बिचमा राख्यौँ र हतारिँदै टिचिङ हस्पिटल पुर्यायौँ। भोलिपल्ट बिहान मात्रै उसको होस आयो। अघिल्तिर मलाई देखेर थोरै भए पनि ढुक्क भई।
मोबाइलले नेटवर्क देखाउने बित्तिकै घरमा फोन गरेँ। भूकम्पको केन्द्रविन्दु धेरै टाढा भएकाले गाउँतिर धन्न खासै असर परेनछ। बुवा आमा सबै ठिकै हुनुहुँदो रहेछ। अहिले सम्म मेरै चिन्तामा छट्पटाइरहनु भएको थियो रे।
उता उसको परिवारको अवस्था चैँ कस्तो होला? गोर्खा घर भएकी ऊ होस आएदेखि नै परिवार सम्झेर आत्तिन थाली। उसको मोबाइल मागेँ र उसको बुवाको नम्बरमा फोन गर्न खोजेँ तर लागेन। `गाउँकि छिमेकी दिदिको नम्बरमा फोन गरेर बुझ्नु त´ भनेर उसले नै सुझाए पछि मैले उनको नम्बर डायल गरेँ। उनी बोल्नै सकिनन्। रुँदै `सबै बर्बाद भो बाबू, सबै सकियो´ भनिन्।
मैले उनीसँग लाउड स्पिकर गरेरै बोलिरहेको हुनाले आश्मा उनीसँगको सबै फोनबार्ता आँफै पनि सुनिरहेकि थिई। यसरी उसले उसका बुवा, आमा र भाई सबैलाई गुमाई। ऊ यति रोई; सायद साथमा म थिइनँ भने रोएरै मर्थी होला। अब उसको न घर बच्यो, न त परिवार नै। मलाई लाग्यो- अब केवल म मात्रै बाँकी रहेँ उसको आशाको दीयो।
.......
अनि अघि ऊ भन्दै थिई कि `म ठिक हुँदिन, मलाई छोडेर जाऊ।´ म चैँ के उसलाई छोडेर ठिकठाक रहन सकुँला?
यसरी नै दिनचर्या चलिरहेको थियो। लगभग एक वर्ष भयो, उसको डिस्चार्ज हुने दिन पनि नजिकिँदै आयो। अस्पतालबाट मुक्ति पाउन लाग्दा खुसी हुनु त पर्ने थियो तर अौषधि, थेरापी र उपचारका अनेक तरिकाहरू अपनाए पनि उसको स्वास्थ्यमा खासै सुधार आउन नसकेकाले मनमा चिसो बाँकी नै रह्यो। उसको शारीरिक अपाङ्गता जीवनभर रहने भयो। `बिचरीको मनमा यतिबेला के बितिरहेको होला!´
उसले डिस्चार्ज हुने दिन फेरि भनेकी थिई, "मलाई कतै मान्छेको भिडभाड बढि हुने सडक किनारामा लगेर छाडिदेऊ, आलोक! जतिञ्जेल बाँच्छु, मागेर खाउँला।"
म एकदम रिसाएँ, "बारम्बार एउटै कुरा कति गर्छौ? त्यसरी छोड्ने भए यत्रो वर्ष दिनसम्म तिमीलाई रुँगेर बस्थेँ? चाहिने नचाहिने कुरा नगर।"
"म तिम्रो बोझ कतिञ्जेल बनौँ त नि, भन त?" ऊ रुन्चे अनुहार लगाउँदै फेरि बोली।
मन एकाएक कुँडियो। सम्हालिन खोज्दै भनेँ, "मेरो कोठा छ त, त्यहीँ बसौँला जसो तसो। सँगै बाँचौँला आधा-आधा। म तिम्रो साथमै छु, आस्मा। जसरी चल्छ, चलाउँदै लगौँला। मलाई विश्वास गर आश्मा, आई विल नेभर लेट यु डाउन। म तिम्रो साथ कहिल्यै छोड्ने छैन। तिमीलाई थाहा छ नि, म आफूभन्दा बढि तिमीलाई माया गर्ने भएको छु।"
प्रेमले यही त खोज्दो रहेछ, सच्चा मन भएको सहयात्री। उसको लागि म र मेरो लागि ऊ। हुनसक्छ- एकअर्काकै लागि हाम्रो जन्म भएको थियो। सायद त्यसैले ऊदेखि छुट्टिएर टाढिने त मैले कल्पना नै गर्न सकिनँ।
त्यसपछि फेरि कहिल्यै झगडा गरेनौँ, सकेसम्म एक अर्काको दिल दुखाएनौँ। उसलाई ह्विल चियरमा राखेर बेला बेला म सहर घुमाउँथेँ। शिरीषको फूलको सुगन्ध मन पराउने ऊ खालि शिरीषकै शितलता खोज्थी। बेला बेला म आफ्नै अंगालोलाई शिरीष बनाइदिन्थेँ। ऊ ठुस्किन्थी र एकैछिनमा फेरि मुस्कुराइहाल्थी। आफ्नै दिलसम्म पुग्न सके खुसी भेटिने रहेछ। अन्त टाढा कहाँ जानू पर्ने रहेछ र खोज्न!
........
बुवा आमाले भूकम्पको बेला पशुपतिनाथसँग भाकल गर्नु भएको थियो रे `हाम्रो छोरालाई बचाइदेऊ प्रभू´ भनेर। दर्शन गर्न काठमाडौँ आउनुभयो। मेरो कोठामा उसलाई देखेर एकछिन त अलमल्ल पनि पर्नु भयो। सबै बेलिबिस्तार लगाए पछि "हामीलाई तिमीमाथि कुनै गुनासो छैन बाबु, यस्तो धर्मात्मा छोरो जन्माएका रहेछौँ, हामीलाई तिमी प्रति गर्व छ।" भन्नू भयो र भावुक हुँदै आमाले आश्माको निधारमा मुसार्नु भयो। बुवाले उसको शिरमा हात राखेर स्वास्थ्य लाभको कामना गर्नु भयो। उसको `बुवाआमाको स्वर्गमा बास होस्´ भनेर प्रार्थना पनि गर्नुभयो।
उहाँहरू काठमाडौँ आउनु भएकै मौका पारेर आश्मा र मैले बिहे गर्यौँ। चारै जनाले बिहानै नुहायौँ, केही सामान्य बिहे सरदाम ठिक पार्यौँ र गुहेश्वरी मन्दिर गयौँ। उसलाई ह्विल चियरमै राखेर मन्दिरको सात फेरो लगाएर सात जुनी सँगै जिउने कसम खाएँ मैले। हाम्रो जीवनको सबैभन्दा सम्झन लायक दिनहरूमध्ये एकदिन यो पनि बन्यो।
बुबाआमालाई पनि बुढेसकालले गलाउँदै लगेको र स्वास्थ्य पनि खराब बन्दै गएका कारण दुर्गम गाउँमा जीवनयापन गर्न त्यति सहज नहोला भनेर गाउँ फर्किनँ दिएनौँ। आजकल हामी सबै सँगै छौँ, एकदम खुसी छौँ।
आश्मा पनि अब त बानी परेकी छे। दुःखी कम र खुसी ज्यादा हुन थालेकी छे। म उसको जीवनसाथी र मेरा बुवा आमा उसका पनि बुबा आमा हुनुभएको छ। उसको हेरचाहमा आमा खटिरहनु हुन्छ। ऊ ह्विल चियरमै यताउता गर्छे। भूकम्पपछि रोकिएको उसको पढाइले फेरि निरन्तरता पाएको छ। खालि समयमा भने प्रेमिल उपन्यासहरू पढ्छे। एकदिन उसले ड्यानियल स्टीलको `पालोमिनो´ पढ्दै गर्दा मलाई भनेकी थिई, "यस उपन्यासको प्रमुख पात्र मलाई ठ्याक्कै तिमी जस्तै लाग्यो।" सक्दो माया दिएर हरबखत ऊ मलाई मख्ख पार्न खोज्छे।
अब मेरो पढाइ सकिइसकेको छ। अहिले म त्यसै होटलको म्यानेजर भएको छु। भगवानको कृपाले सबै ठिकठाकै चलिरहेको छ। ऊ मलाई श्रीमान कम र मित्र ज्यादा ठान्छे।
"आमी तोमाके भालोबासी, सामी!"
"आमी तोमाके आरो भालोबासी, स्त्री!!"
अहिले भर्खरै उसले मलाई बंगाली भाषामा `म तिमीलाई प्रेम गर्छु, बुडा´ भनी। मैले पनि `म तिमीलाई झन धेरै प्रेम गर्छु, बुडी´ भनिदिएँ। एकअर्का प्रति प्रेम दाखिला गर्न हामी अरुभन्दा बंगाली भाषा बढि प्रयोग गर्छौँ। कारण- बंगाली उसको फेबरेट भाषा। उसको फेवरेट भएपछि मेरो पनि फेवरेट। अनि ठट्टा र प्रेम संगै मिसाएर बोल्दा बंगाली भन्दा मीठो अरु कुनै भाषा सुनिन्छ र? हा...हा...हा यसबारे हामीलाई खासै जानकारी छैन।
खोज्यो भने चित्त बुझाउन र खुसी हुन प्रशस्तै बाटोहरू भेट्न सकिने रहेछ। यत्ति हो- उसलाई जस्तो अरू कसैलाई नपरोस्। परिहाले पनि भगवानले सबैलाई उसलाई जस्तै सासू ससुरा र श्रीमान जुराइदिउन्।
(यस कथाको वाचन सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला।)
.......समाप्त.......