लीमा (भान्जी) सात वर्षकि छिन्। अनेक राम्रा नराम्रा आदतहरू मध्ये सानातिना बदमासीहरू गरिरहनुपर्ने उनको सबैभन्दा प्रिय आदत हो। बोलिरहनुपर्ने उनको अर्को आदत हो। चुलबुल-चञ्चल खेलिरहनु पर्ने अर्को आदत।
यति सानै उमेरमा उनी घुम्न रुचाउँछिन्, कता-कता गइरहन उनलाई खुब मनपर्छ। तीन वर्षको उमेरदेखि नै बाबामामुलाई छोडेर उनी मामाहरूसँग मामाघर जान्थिन्। यसपालि पनि उनको पाठशालाले दिनको तीन-तीन वटा विषयको जाँच लिएर भए पनि हतारमा परीक्षा सक्काएर विदा दिएपछि उनी मामाघर जान्छु भन्दै मामुसँग गनगन गर्न थालिन्।
लकडाउनको एकदिन अगाडि मामा उनलाई लिन गईस्यो र लिएर आईस्यो। त्यस दिनदेखि मामाको अक्सर समय उनीसँगै। रहर/बाध्यता जे नै पनि होस्, आजकल भान्जीको बानियाँटार मामाको मच्छेगाउँदेखि निक्कै टाढा भएको छ। गाडीहरू चल्दैनन्, हिँड्न पाइँदैन।
घाम ताप्ने आँगनसम्म त ठिकै हो, उनी खेल्ने मामाको घर अगाडिको खुला मैदान पनि उनका लागि खुला छैन। उनी त्यहाँ हावा खान सम्म जान सक्दिनन्। यदि पुगिहालिन् भने पनि `पुलिस अंकल´ आएर घुरेर हेर्छन्। डराएर भाग्दै उनी गेटभित्र छिर्छिन्। पुलिस अंकल त त्यहाँ बसिरहँदैनन् र पनि फेरि फर्केर उनी त्यहाँ जानेे आँट गर्न सक्दिनन्।
मामासँग घरभित्र `हाइड एन' सीक´ पनि कति खेल्नु, जति डुले नि एउटा फ्ल्याट भित्र कति नै लुक्ने ठाउँ हुन्छ र? आज त अति भयो; दिउँसोसम्म त जसोतसो टिभीको कार्टुनले तान्यो। अब त उनी त्यहाँ पनि अडिन नसक्ने भईन्।
अस्तिको पुलिस अंकलको घुराई अझै भुल्न सकेकी त थिइनन्, यद्यपि उनलाई बाहिर जाने ईच्छा तिब्र हुँदै आयो। `जाबो त्यहीँसम्म जाँदा त के नै हुन्छ र? कोही हुन्नन् त त्यहाँ!´ यस्तो भन्दै आँफैसँग एकछिन गन्गनाईन्। एक्लै जाने आँट त कहाँ... त्यसपछि उनी मामाको सहारा लिन बाध्य भईन्।
`मामा प्लिज एकछिन बाहिर चहुर सम्म हिँडिस्यो न, अत्ति झ्याउ लाग्यो भित्र बस्दा-बस्दा। लेट्स ह्याव सम फ्रेस एयर, प्लिज...!´
मामासँगै गईन्। आनन्द मानेर यताउता दगुर्न थालिन्। त्यसैबीच नआएका पुलिस अंकल पनि आएझैँ मामाले उनलाई तर्साई दिस्यो। उनी झसङ्ग भएर मामातिर आईन्। अनि मामाले झुट बोलेको भन्दै एक मुक्का मामाको ढाडमा हानिन्। त्यहाँ धेरैबेर बसिरहने इजाजत कहाँ...?
रपनि उनलाई नजिकैको मन्दिरसम्म त जसरी पनि जानु थियो। `मामा सुनिस्यो न! अब मलाई यहाँ बस्न पुग्यो। लेट्स् गो सम ट्वायन्टी मिटर्स अनवार्ड। अनि मन्दिरको घन्टी बजाएर फर्किउँला।´ मामा-भान्जी त्यहाँसम्म पुगेपछि मामाले भगवानको दर्शन गरिस्यो, उनले घण्टी बजाईन्। दुईचार वटा फोटो पनि खिचिए। उनको अनुरोधमा मामाले घण्टी बजाएको भिडियो पनि बनाइदिस्यो।
उनलाई मन्दिर भगवानको दर्शन गर्ने भन्दा बढि घण्टी बजाउने ठाउँजस्तो लाग्छ। मन लागेको कुरा माग्ने त बाबा-मामूसँग पो, मामासँग पो!
`अब टेन स्टेप्स् अरु अगाडि जाम् ल? ऊ... त्यो पसलसम्म? मलाई स्निकर्स खान मन छ।´ विचरा उनको चकलेट खाने रहर पनि दबिएर रह्यो यत्रो दिन! स्निकर्स पाइएन। तीन-चौथाई भाग बन्द गरिएको सटरबाट निहुरेर मामाले एक पोको दूध र एउटा डेरी मिल्क किनिस्यो।
उनलाई डेरी मिल्क चैँ मामाको हातबाट खोसेर त्यहीँ खाईहाल्न मन थियो। फेरि सम्झिन्- `पहिले साबुन-पानीले हात धुनुपर्छ´ किनकि उनले घरबाट बाहिर निस्केदेखि यतिन्जेल सम्म चहुरको दुबो छुइन्, छेउको तितेपातीको बोट, मामाको ढाड, पसलको गेट, अनि मन्दिरको घण्टी छुईन्। अरु बेला जे होला, यतिबेला भने उनलाई थाहा छ- चहुरको दुबो र मन्दिरको घण्टी पनि कोरिना सार्ने माध्यम हुन सक्छन्। मन्दिरका भगवानले बचाउन सक्ने अवस्था कमसेकम यतिबेला छैन।
घरभित्र आईन्, चकलेटको भोकले मुख जति सुकै रसाओस्, मज्जाले मिचिमिचि डेटोलले हात धोईन्। यसरी उनको आज दिउँसोको दस मिनेट लकडाउन हुनुभन्दा अगाडिको सामान्य दिनचर्या जसरि बित्यो। यता मामालाई यस्तो लाग्यो- `लकडाउनले मन त पूर्णतया लक गर्न नसक्ने रहेछ।´
अब फेरी उही पुरानो दिन कहिले आउला? उही समयमा फर्किन पाइएला कि सधैँ यस्तै होला? उनी मन भुलाउने कोसिसमा डेरी मिल्कको खोल च्यात्न थालिन्। मामा यता छेउमा उनैलाई हेर्दै भावुक हुँदै टोलाइस्याथ्यो तर आँसु चैँ आएन।
ए साँच्चै, मामाको आँखामा टियर ड्रप्स हाल्ने बेला भयो। उनैले सम्झाईन्। मामा झसङ्ग भएर फेरि वास्तविकता तिर फर्किस्यो।
©सुमन भट्टराई।
#lockdowndiaries

No comments:
Post a Comment