Tuesday, 28 April 2020

कविता- "भोकको विद्रोह"

आफ्नै आङको झोलुङ्गोमा
छाउरा-छाउरी चल्ट्याङ-चुल्टुङ झुण्ड्याउँदै
एक कङ्गारू आमा गोडा लतार्दै
हिँडिरहेछु जीन्दगीको किनारै किनार,

बासस्थान पुग्न सके त बाँच्थेँ हुँला . . .

बाटो सबै सिमसार छैन,
बाटोमा जताततै सियाँल छैन,
कतै तातो मरुभूमी जस्तो,
कतै बर्खेभेलको खहरे जस्तो;

पिल्सिँदै-ताछिँदै लम्किरहेछु जसोतसो . . .

यही खाल्डोमा बसौँ, अभाव छ-
रोगबाट त बचुँला, भोकले छोड्दैन,
सिकारीको बन्दुकदेखि लुक्दै-भाग्दै,
जुनकिरीको उज्यालो पछ्याउँदै-

नसके पनि जानु छ, नसके पनि सक्नु छ . . .

बल्लतल्ल भेटेको छु खोला-
धमिलो होस् या दुषित पानी,
पिइनँ भने मर्छु, पिए थाहा छैन-
घुँडा टेक्छु,निहुरिन्छु,मुख डुबाएर टन्न पिउँछु;

अञ्जुली भरेर पिलाउछु बच्चाहरूलाई . . .

भोक कराउँछ- साथमा खानेकुरा छैन,
कतै भेटिन्न मानवताको साइनो यो समय,
घरको अन्न सम्झिन्छु, घुटुक्क थुक निल्छु,
लम्किन्छु-लम्किन्छु बलले भ्याएसम्म-
बाँचे भने रुम्जाटार पुगुँला;

नबाँचे- यसैपनि म यतिबेला घाटमै सुतिरा'छु ||



-सुमन भट्टराई।

No comments:

Post a Comment