Tuesday, 5 May 2020

कथा- `भूत हुन्छ र?´

स्कुल पढ्ने बेलाको कुरा हो, म त्यस्तै १३/१४ वर्षको थिएँ। गाईवस्तु चराउन भनेर घरभन्दा निकै टाढा अँगेरी वन पुगेको थिएँ। झमक्कै साँझ परिसकेको भएपनि मीठो मुख लगाएर चर्दाचर्दैका गाई गोरुलाई घर तिर धपाउन मन नै मानेन। यसै त स्वतन्त्र डुलिहिड्न पाउनु पर्ने उनीहरूलाई  हामी बन्धक बनाएर अन्याय गरिरहेका हुन्छौँ/छौँ, त्यसमाथि अघाउँजी घाँस खान पनि दिएन भने त महापाप लाग्ला। यस्तै सोच्दासोच्दै अब त घाम डुबेको पनि निकैबेर हुन लाग्यो।

मैले जतिञ्जेल कुरे पनि आज उनीहरूको भोक मेटिएला जस्तो नलागेपछि उनीहरूलाई धपाएर घरतिर फर्काउन थालेँ। त्यो बाटो आउँदा जाँदा बाटैको पिठ्युमा एक्ले-वर पर्थ्यो, जुन डरलाग्दो भिरकै छेउमा उभिएको थियो। धेरै पहिले त्यही भिरबाट कथुरे शेर्पा लडेर मरेको थियो रे। गाउँलेहरू हामी केटाकेटीहरूलाई भन्थे-`साँझ परेपछि त्यतातिर एक्लैदोक्लै हिँड्ने नगर्नु, कथुरेको आत्माले तर्साउँछ।´ उनीहरूको अलौकिक आस्था थियो-`झुन्डिएर/डुबेर/लडेर मरेका मान्छेहरूको आत्मा सोही स्थान वरपर भूत बनेर भौतारिन्छ। रात परेपछि पनि अटेर गरेर कोही त्यता हिँडडुल गर्यो भने उसको सातो लिन्छ र बिरामी बनाउँछ; आँफैसँग लिएर जान पनि सक्छ।´ यस्तै अनेक डरलाग्दा कथनहरू सुनाउँथे गाउँलेहरू।


जब जब साँझ झनझन छिप्पिँदै गयो र म त्यही वरको छेउछाउ पुग्दै गएँ, मनमा डर बढ्दै जान थाल्यो। मुटुमा धड्कनले ढ्याङ्ग्रो ठोक्न थाल्यो। मलाई त्यो बाटो नहिँडी त भएकै थिएन, एक्ले-वर नकटी त भएकै थिएन। अन्त कतैबाट जाउँ भन्नलाई पनि अरु कुनै रास्ता थिएन। मनमनै यस्तो सोचेँ- `गाई देवीकी अवतार हुन्, गोरु परमेश्वर शिवजीका। यसकारण मलाई कथुरेको भुतले तर्साउने हिम्मत सायद गर्दैन।´ अनेक सम्झेर/कल्पेर मनलाई थुप्थुप्याउन त खोजेँ। तर पनि जतिजति वर नजिक हुँदै थियो, त्यति त्यति डर बढ्दै थियो।

एक्ले-वरको नजिकबाट के कटेको मात्रै थिएँ, धड्कनको ढ्याङ्ग्रो मुखबाटै निस्किउँला जस्तो गर्न थाल्यो। अन्तिममा हिँडिरहेको गाईको पुच्छर निमोठेँ र सबै गाईवस्तुलाई दगुराएँ। सातो नै जाला जस्तो भएपछि यस्तो बेला सकेसम्म दगुरेर भाग्नुको अर्को विकल्प नहुँदो रहेछ।

कथुरेको भुतबाट त कसोकसो गरेर फुत्किएँ। केहीबेर पछि फेरि अर्को भूतको अड्डा आइपुग्यो, जसलाई गाउँलेहरू भूते दह भन्थे। रात परेपछि त्यही दहछेउ खोलामा भौतारिने र नजिकैबाट खोला तर्नहरूलाई त्यहाँको भूत लाग्छ भन्ने गाउँलेहरूको सोचाइ थियो। परापूर्व कालमा सात जना दिदिबहिनी त्यही दहमा पौडी खेल्ने क्रममा डुबेर मरेका थिए रे। आजकाल रात परेपछि उनीहरू त्यहीँ उत्रेर नाच्छन् अरे। फेरि डरले थरथर कमायो मलाई। यसपटक भने यस्तो गरेँ- अन्तिममा हिँडेका दुई वटा गोरुलाई पछाडि पारेर आफू बिचमा घुसेँ। बल्ल अलि सुरक्षित महसुस भयो।(गाउँमा विभिन्न यस्ता ठाउँहरू छन् जहाँ कतै कोही अबिवाहित चेली पेट बोकेर झुन्डिएका छन्, त कतै लडेर वा डुबेर मान्छेहरू मरेका छन्।)

सास न बास भएर घर पुग्दै गर्दा लागिरहेको थियो आज मैले ढिलासम्म वस्तु चराएर गल्ति गरेँ। `उनीहरू पो भूतदेखि डराउँदैनन् , मलाई त डर लाग्छ नि!´

घरछेउ पुगेको मात्र थिएँ, घरभित्रबाट मान्छेहरू रोइरहेको आवाज आइरहेको सुनेँ। बुवा आँगनमै हुनुहुँदो रहेछ, आँसु पुछ्दै नजिक आउनुभयो र भन्नुभयो-"निकै ढिला गरिस् त, आलोक!" म घबराएँ तर केही बोलिनँ। गाईवस्तु बाँधे र धारामा गएर हातगोडा-मुख धोएँ। त्यसपछि दलानमा टेकेको मात्रै थिएँ मलाई गम्ल्याङ्गै अँगालो हालेर बुवा फेरि जोडजोडले रुन थाल्नुभयो। मैले केही कुरा बुझेको थिइनँ, त्यसैले निन्याउँरो हुँदै सोधे-"के भयो बुवा?"

उहाँको जवाफ एकछिन त मलाई पत्याउनै मुस्किल पर्यो। मानौँ मेरो टाउकोमाथि भर्खरै चट्याङ पर्यो र मेरो गिदी छरपस्ट बनाइदियो। फनफनी दिमाग घुम्न थाल्यो। उहाँले भन्नुभएको थियो-"आलोक! बेटा! काभ्रोको रुखबाट लडेर हजुरबुवा बित्नुभयो बाबू! आज तेरो हजुरबुबालाई घाँसले लग्यो छोरा! उब उहाँ हामीलाई सदाका लागि छोडेर जानुभयो।"

मैले आँफूलाई रोक्नै सकिनँ। दगुर्दै घरभित्र पसेँ। उहाँलाई भुइँमा सुताएर राखिएको थियो। आँखाहरू तलाउ बने र आँसु भरिएको पानी बन्यो, पोखिन थाल्यो, पोखिइरह्यो। केही बोल्न सकिनँ। हजुरबुवालाई अँगालेर चिच्याउन पनि सकिनँ। मम्मी छेउमै गजधम्म बसिरहनु भएको थियो- झरीपछिको शान्त तर धमिलो पोखरी जस्तो। उहाँका सुन्निएका आँखाले एकोहोरो हजुरबुवालाई हेरिरहेका थिए। छेउमा दाई, दिदि, काका, काकी, भाइ, बहिनी, सबैजना हजुरबुवालाई नै हेर्दै रोईरहेका थिए। तर हजुरबुवा भने रुनुभएको थिएन। उहाँ त रहस्यमय तरिकाले अन्तै कतै हेरिरहनु भएको थियो। उहाँको नजर हामी कसैको नजरसँग पनि मिलेको थिएन।

यसरी मलाई हदैसम्म प्यारो मान्ने र माया गर्ने हजुरबुवा बित्नुभयो। भन्नुहुन्थ्यो-"आलोक बेटा! तँ ठूलो मान्छे बनेस्, सदा झुक्नुपर्ने ठाउँमा झुकेस्, उठ्नु पर्ने ठाउँमा उठेस् है, बाबु?" सदा यस्तो आशिर्वाद दिएर नथाक्ने हजुरबुवाले आज सदाका लागि थकाइ मार्नुभयो।

सही समय त हैन तर यसैबीच मलाई झट्ट सम्झना भयो-`हजुरबुवा पनि कथुरे शेर्पा जसरी लडरै मर्नुभयो। यदि कथुरे भूत बनेकै हो भने के अब हजुरबुवा पनि भूत बन्नुहोला? के अब उहाँले हामीलाई तर्साउनु होला? उहाँ त झन घरै छेउको काभ्रोबाट खसेर मर्नुभएको हो! के अब हाम्रो घर मसानघाट बन्छ त उसोभए? अब के हामी उहाँको भुतदेखि तर्सेर/डराएर आफ्नै घर छोडी भाग्नु पर्यो? मनमा अनेक सवालहरू उब्जिए।

यसपटक त यो सब सोचिसक्दा समेत मेरो मनमा फिटिक्कै भय उत्पन्न भएन। डर/त्रास/ढुकढुकी केही बढेन।

न त हामी कहिल्यै घर छोडेर बसाइँ हिड्यौँ, न त कालान्तरमा हजुरबुबा भूत हुनुभयो, न त कसैलाई तर्साउनु नै भयो। गाउँमा न कोही सातो गएर बिरामी भयो, न त अँध्यारोमा हिँडेर कसैको होस नै गुम्यो। भुतका सबै किस्साहरू हावादारी रहेछन्/बकवास रहेछन् भन्ने कुरा मैले त्यतिबेला बल्ल बुझेँ जब हजुरबुवा भूत हुनु भएन, हजुरबुवा नै रहनु भयो सदासदा!!

-सुमन भट्टराई।

No comments:

Post a Comment