Wednesday, 3 June 2020

`लकडाउन माझ- एक साँझ!!´

©सुमन भट्टराई।

घाम अस्ताउन लाग्दा उठेँ। अटेर गरेर झम्के साँझमा समेत सुतिरह्यो भने बिरामी भइन्छ रे, त्यसैले। उठेर पर्दा खोलेँ। आँखा मिच्दै बाहिर तिर हेरे। सूर्यदेव पश्चिमा सहरको ढोका ढक्ढक्याउन गए। अब गोधुली सुरु हुन लाग्यो। हावा खान छतमा जानुपर्यो।

`दिउँसो किन सुत्यो? राति सुत्दैन कि के हो?´ भन्नुहोला। कौतुहलता जाहेजै हो। राति पनि सुत्छु, अनि दिउँसो पनि। नौ बजे उठेर खाना बनाएर/खाएर, एकछिन टिभी हेरेर, थपिएका लासहरूको संङ्ख्या गनेर सुतेको हो बिहान। अनि अर्को पनि प्रश्न आउन सक्ला-`दिउँसै पर्दा चैँ किन लगाउँछ?´ पर्दा नलगाई त सुत्न पनि सक्नुपर्यो नि...! सुत्नु सुत्नुमात्रै हैन, निदाउनु पनि हो। कुरो बुझ्नुभो? म चैँ यसरी बुझ्छु सुत्नुलाई।

खैर!

उठेँ, छतमा गएँ। लकडाउन सुरु भएपछि रोपेका घिउसिमी, बोडी, करेला, काँक्रो, अनि दुई चार अरु लहरालुहुरी फल्न थालेछन्। देखेर दङ्ग परेँ। बिरुवाहरूको यात्रा त लकडाउनले रोकेको छैन। हामी मात्रै हो थन्किनु परेकाले तन्किन नपाएको। अँ, छत चैँ घरबेटी दाई-दिदीको। अनि अघि उल्लेखित तरकारीहरू पनि मैले हैन, उनीहरूले नै रोपेका।

खाने/सुत्ने पनि कहिले सम्म गर्नु? घरबाट बाहिर निस्किँदै ननिस्किएपछि कोरोनाको महामारीबाट त बचिएला तर प्रेसर, सुगर, बाथ लगायतका यावत् रोगहरूले सताउलान् भन्ने पीर। हृदयघातले पनि मान्छे मरेका मरेकै छन्। आफ्नो पनि त्यही हाल होला भन्ने त्रास। आत्महत्या गर्नेहरूको संख्या पनि ठूलै छ। धन्न मलाई चैँ अहिलेसम्म डिप्रेसन वा पागलपन सुरु भएको छैन र ज्युँदै छु। कसलाई के थाहा, भोलि के हुने हो!!

एकछिन छतमा टहलिएँ। पच्चीस पटक गन्ती गरेर पुसअप्स गरेँ। हिरिक्कै बनायो। यसो चारैतिर हेरेँ। घाँटी सफा गरेँ र देवेन्द्र बब्लुको `कसरी´ बोलको गीत जानि-नजानी गाएँ। तल्लो तलाबाट घरबेटि दाइ सुनिरहेका रहेछन्; जिस्क्याए-`ल भाइ ल! लकडाउन खुलेसि स्टुडियो गएरै रेकर्ड गराउनु पर्छ, मीठो छ स्वर।´ बुडाले कुन दिनको बदला लिए कुन्नि? मैले त केही अपत्यारिलो कुरो गर्या थिइनँ। यिनले पो किन गरे? नत्र त मेरो स्वर मीठो छैन, किन यसो भनेका होलान्? हुन त केही मानिसहरू काँडालाई पनि फूल देख्छन्। उनी पनि बहुत असल छन्, सायद त्यसैले मीठो लाग्यो होला कि! उनको कम्प्लिमेन्ट सुनेर म मुसुक्क हाँसे। हल्का लाज लाग्यो। त्यसैले त्यसपछि गाउन बन्द गरेँ।

जेठको महिना भए पनि चिसो हावा चलिरहेको छ। केहीबेर हावासँगै उड्न पाए पनि हुने...! तर कसरी? एकछिन टहलिएँ, टोलाएँ र पुनः ओर्लिएँ आफ्नै फ्ल्याटमा।

अब डिनर खाने काम बाँकी रह्यो। अमलेट बनाएँ, कफी बनाएँ। फ्रिजबाट दुईओटा गाँजर झिकेँ, तासतुस/काटकुट पारेँ। र डाइनिङ टेबलमा बसेँ। कस्तो शून्य समय! एक्लै चपाइरहँदा त आफ्नै दातको आवाज पनि कंकालहरू एक-अर्कासँग कुस्ती खेल्दै छन् कि जस्तै सुनिने रहेछ- ट्वाक्ल्याक-टुक्लुक/कर्याक-कुरुक!

अमलेटको पहेँलो भाग खाइनँ- आजकल रीस अलि बढि नै उठ्छ, प्रेसर बढ्यो कि भनेर। आफ्नो चिन्ता, अरुको चिन्ता,  देशको चिन्ता। दिमागले पनि कतितिर सोचोस्, कसरी धानोस्? धन्न कफी छ र सुर्का लगाउँछु, लामो सास तान्छु र मन थाम्ने कोशिस गर्छु। अख्खा...! झन्डै गाँजर सर्केको। मन भुलाउने बाटोहरू पनि अलि गतिला भेटिनु नि! जाबो गाँजर सर्केको कुरामा नि चिन्तन गरेर बस्नु पर्या छ।

बाथरुम गएँ, ब्रस गरेँ। अब बेडरुम छिर्छु, ल्यापटप निकाल्छु र ओर्ड फाइल खोल्छु। आज त मैले जसरी पनि लेख्नु छ एउटा कथा। यस कथाको अवधारणा फुरेको निकै दिन भइसक्यो, लेख्न अल्छी मानिरहेको छु। लकडाउनमा घरभित्रै बस्नु परेकोमा हरबखत गुनासो गरिरहने मलाई लेख्न त केही र कसैले रोकेको छैन त! झन मौका जुराइदिएको छ सरकारले। मान्छेको जातै यस्तै, गुनासो नगरी खाएकै नपच्ने। लौ त! अब गन्थन बन्द गरौँ र सुरु गरौँ कथा- `शरणार्थी!´

No comments:

Post a Comment