(भ्लादिमिर नाबोकोवको उपन्यास "लोलिता"बाट प्रेरित।)
गोही किन चाहन्छ चट्टानको सितन?
किन चाहन्छ *स्पाइडरलिङ माकुरीको गर्धन?
ओई लोलिता, तँ किन चाहन्छेस्
समयको गर्भबाट निस्कनै नपाई
आफ्नो बालिका नाभी चिमोठ्न?
हरेक आँधीले चैतमास पर्खिन्छ।
मस्त पवनले कुतकुत्याउनु अगावै
रहरको जग्गेमा आँफैलाई घुमाएर
पोइल हिड्न आतुर ए बेसरम केटी!
तेरी आमाको उता चिता जल्दैछ।
यतिबेला जल्नुपर्ने तँभित्रकै लार्भा हो
जुन पुतली हुनु अगावै उड्न चाहन्छ,
जल्नुपर्ने त हम्बर्टको स्वचालित यन्त्र पो,
जो नगोडिँदै मकै बारी जोत्न चाहन्छ।
अपुष्ट कलस केहीबेर यथावतै राख्;
र जा! आफ्नी आमाको उद्दार गर्!
जल्नैपर्ने यतिबेला नाबोकोव स्वयम् हो-
न कि सार्लोट र उनको तँमाथिको स्वप्न!
रुक् ए केटी! बरु बस् र केहीबेर ध्यान गर्-
अस्तु किन चाहन्छ कालिगडको लोहोटा?
©सुमन भट्टराई।
(नोट- *स्पाइडर्लिङ= माकुराको बच्चा)
No comments:
Post a Comment