Wednesday, 15 April 2020

कविता- "डोमाको झुट"

आजकल डोमा पनि बाठी भएकी छे।
खुब झुठो बोल्छे!
"झुट बोलिस्?" छिरिङ सोध्छ।
डोमा "हैन" भन्छे।
छिरिङ फेरि सोध्छ,"मलाई थाहा हुन्न भन्ठान्या?"
डोमा रिसाउँदै जवाफ फर्किउँछे-
"जे बुझ्दा तिम्लाई ठिक लाग्छ, त्यही बुझ!"
सब थाहा पाएर पनि निरीह हुँदै छिरिङ चुप बस्छ।

डोमा कता कता को-को सँग व्यस्त हुन्छे।
छिरिङ सोध्छ- "ओई, कोसँग बिजी के?"
ढिला गर्दै डोमा रिप्लाई गर्छे-
कैले "चर्पीमा थिएँ" भन्छे,
कैले "सिरक पट्याउदै थिएँ,"
त कहिले "सिँगान पुछ्दै थिएँ" भन्छे।
 ऊ फेरि पनि झुठो नै बोलिरहेकी छे।
तर पनि छिरिङ केही भन्दैन।

कैलेकाहीँ त डोमा हद गर्छे।
उसलाई फोन गर्दा टेलिकमकि नानीले रिसिभ गर्छिन्-
"तपाईंले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ!"
छिरिङ म्यासेज गर्छ- "कत्ति ब्यस्त के तेरो फोन!"
डोमा फेरि रिसाईदिन्छे,"ह्या, तिमी नि त्यसै आरोप लगाउँछौ!
कोसँग बिजी थिएँ र म?
ए अँ! म आमासँग बोल्दै थिएँ।"
उसले फेरि पनि झुठो बोली।

`खाजा खाई/खाईन? भोकै पो बसि कि?´
`पिरियड भएको थियो, गुन्दुक पो खाइदिई कि?´
चिन्तित हुदै छिरिङ सोध्छ- "ओई, खाजा खाइस्?"
नखाँदा पनि ऊ "खाएँ" भन्छे;
"के खाईस्?" भन्दा अकमकाउँछे।
फेरि पनि उसले झुठो बोली।
फेरि पनि छिरिङलाई थाहा भयो।
फेरि पनि ऊ चुप नै बसिदियो।

छिरिङ सदा चुप बस्न बाध्य हुनुको कारण-
यो सब कुनैबेला डोमालाई उसैले सिकाएको हो।
.....
.....

©सुमन भट्टराई।
(चटपटा प्रेम गर्ने सबैसबै प्रति समर्पित। 😊😊)

No comments:

Post a Comment