Monday, 4 May 2020

"स्वर्ग र देवीदेवता"

गाडीले धिकिर धिकिर गर्दै जसोतसो अन्तिम स्टेसनसम्म पुर्यायो। साँझ लगभग परिसकेको थियो। दसैंको आगमन करिबकरिब भैसकेको भएपनि झरी वर्षातले प्रकृतिलाई माया मार्न सकेकै थिएन। र हामीलाई घर पुग्न अझै कम्तिमा दुई घण्टा ठाडो ओरालो पैदल हिड्नु पर्ने थियो। यसै पनि साँझ पर्न लागेको र पहाडले हुस्सुको बाक्लो घुम्टो ओढिरहेको हुनाले झमक्कै भैसकेको थियो।

गाह्रो त के थियो भने- ओरालो जानू पर्ने, चिप्लो बाटो र जुकाको जगजगीले गर्दा यसै त्रसित हामी साथमा २०/३० किलोको झोला पनि बोकिरहेका थियौँ। अँध्यारो भैसक्यो। र अर्को आपत आइलाग्यो। झरी फेरि बर्सिन थाल्यो। मोबाईल नबालि हिड्न नसक्ने अवस्था आउँदै थियो र झरी! लु खा! अब मोबाइल पनि बिग्रिने भैगयो!



यात्रा रौनकमय बनाउने हेतुले दाईले माहोल तताउने शैलीको कविता वाचन गर्न थाल्नुभो-

`यो गोरेटो बाटो
नदीको रफ्तार जस्तो
जता बगाए पनि हुने
जता तेर्स्याए पनि मिल्ने।
कविको कलम जस्तो
जता बटारे पनि हुने,
जता घुमाए पनि हुने।
उक्लिन चाहे उक्लिन मिल्ने
ओर्लन चाहे ओर्लिन मिल्ने।´

एक वर्षपछि घरको आँगन टेक्ने अवसर र बुबा आमाको पाउ छुने चाहनाले हामी रमाउँदै हिँडिरहेका थियौँ। अप्ठ्यारोलाई `एडभेन्चर´मा बदलेर हिडिदिउँ न! मज्जा भैहाल्छ। अनि त रमाइलोको यात्रा सुरु भयो। साँघुरो बाटोका दायाँ र बायाँ पट्टि कराईरहेका किराहरूले पनि हाम्रै स्वागत गरेझैँ लाग्यो।

वर्षायामभरि झरीले हिर्काएर बाटोको सतहमा परेका खाल्डाखुल्डीको समेत प्रवाह नगरि लड्दै, घस्रिँदै, उफ्रिँदै हिडिरह्यौँ। अँ त! यात्रामा को को थियौँ भनेर भन्न त भसक्कै भुलेछु। दाजु-भाउजू, ६ वर्ष लाग्दै गरेकी भान्जी र म थियौँ। ठट्टा र हाँसो सँग आफ्नो गाउँको वासना पनि मिसिन थाल्यो। झुल्दै गरेका धानबारीका आली खोल्सीमा हाम्रो स्वागतका लागि खटिएका भ्यागुताहरूले पनि स्वातग गीत गाईरहेका थिए। आम्मै! कति रमाईलो।

त्यत्तिकैमा फेरि अर्को रमाईलो घटना घट्यो। म दुई चार पटक चिप्लिईसकेको थिएँ। पाचौँ पटक चिप्लिए पछि भने दाजुले कविता रच्न थाल्नुभयो।

"यो पहराको कसम-
मेरो कान्छोलाई
माटोले माया मार्न सकेन
लु हेर, पटक-पटक
काखमा बसाईरहेको।
ए कीरा-किरी!
ए भ्यागुता-भ्यागुती-
बजाओ बाजा
फेरि एकपटक!"

कति हाँस्नु! हा हा हा!!

मेरो भागमा बोझ अलिक बढी थियो- पिठ्युँमा ६५ लिटरवाला ट्रेकिङ झोला, एक हातमा भान्जी, अर्को हातमा उनको झोला। रपनि भारीको प्रवाह नगरी रमाउँदै अगाडि बढियो। अब त पुग्न लागि गईयो नि। लडेर उठ्न मात्रै भ्याएको के थिएँ-मम्मीको फोन आयो। "कहाँ आईपुग्यौ बाबू?" मैले स्याँस्याँकै स्वरमा भनेँ,"अब पुग्न लाग्यौँ, बुढिमाऊँ!" मम्मीले कठैको स्वरमा `कति गाह्रो भो नि आज!´ भन्नुमात्रै के भाथ्यो म पड्किएँ, "लु लु ठिक्क नपार्नु, आएसि सुनाउँला!"

फेरि एकलट हाँस्दा नहाँस्दै घर पुग्न लागिहालियो। कसो कसो झण्डै भान्जी पनि बोक्नु परेको। थाकेर हिँड्न सक्दिनँ भन्न थालेकी उनलाई खेल खेल्ने भन्दै काउन्ट डाउन दिँदै घर पुर्याएँ।



झोला के बिसाएको मात्र थिएँ, अनि पो थाहा भयो- काँध त लठ्ठै भएछ हात उठाउनसम्म नसक्ने गरि। निथ्रुक्क भिजेर पुगेका हामीले तातो नुनपानीमा गोडा डुबायौँ। आनन्द आयो। काँध भने मम्मीको हातको मसाज र तातो तेल नपाए सम्म तङ्ग्रिन सकेन।

यसरी यात्रा अति कठिन भए पनि गन्तव्य उत्कृष्ट भएका कारण दु:ख पनि दु:खजस्तो लागेन। हामी स्वर्ग पुग्यौँ र देवी-देवता हाम्रो अगाडि साक्षात उभिनुभएको थियो- बुबा र आमा!!























अन्तत: यो रोमान्चक यात्रा हामी त्यस दिन गर्दै थियौँ, जुन दिन मेरो जन्मदिन पर्थ्यो। असोज दस गते- मेरो चौबिसौँ बर्थ डे। बिहान पाँचै बजे हामी गाउँको यात्रामा निस्किदै थियौँ, राती बाह्रै बजे मेरो लागि दादा-भाउजुले केक काटिदिनु भयो।  केही केक खायौँ र केही आइसक्रीमको बक्समा प्याक गरेर ब्यागमा राख्यौँ ताकि घर पुगेर बुबा मम्मीलाई पनि खुवाउन सकूँ।

खुसी थिएँ, कोही आफ्ना हुनुहुन्छ जो मनदेखि आफ्नो महसुस गराउन सदा तत्पर रहुनुहुन्छ। यो सब माया, खयाल र हर कदममा दिनुभएको साथका लागि दादा-भाउजुप्रति सदा आभारी रहने छु।

यसरी हामी घर पुग्यौँ र म मेरा सृष्टिकर्ताहरूको चरणमा झुक्न पाएर मख्ख भएँ।

सायद यतिबिघ्न विशेष तरिकाले मैले मेरो जन्मदिन आजसम्म कहिल्यै मनाएको थिइनँ। जो कोही सबैभन्दा बढि खुसी सायद यसैबेला हुन्छ होला। जब उसले एक वर्ष पछि घर जाने अवसर पाओस् र त्यसैदिन उसको जन्मदिन परोस्। यति सुन्दर समय सायद अरु कुनै अवसर वा उपलब्धिमा पनि प्राप्त हुँदैन होला। म कति भाग्यमानी!! 😍😍

-सुमन भट्टराई।

No comments:

Post a Comment