Tuesday, 28 April 2020

"छिट्टै नीको हुनुस् है, हजुरआमा!?!"

केही दिन अगाडिको कुरा हो। लकडाउनमा पिल्सिएका हामी (ठुल्दिदि र म) लुँडो खेल्दै समय व्यतीत गरिरहेका थियौँ। त्यसैबीच (कोरोना सुरु हुनु भन्दा केही दिन अगाडि गाउँ जानुभएको) कृृृृृष्णहरि दाजुको फोन आयो, "कान्छा, के गर्दै छौ?" 

"यसै घाम ताप्दै बसेको।" मैले भनेँ।

"हजुरआमाको वाक्य बस्यो, हामी बैतर्नी पूजा गर्दै छौँ!"

यति सुन्दा नसुन्दै दिदी भक्कानो छोडेर रुन थाल्नु भयो। परिवारकै जेठी सन्तान भएकाले दिदी हजुरआमासँग अलि बढि नै नजिक हुनुहुन्थ्यो, सायद यो त्यसकै प्रभाव थियो। यता म भने खासै भावुक भईनँ। यसको मतलब म हजुरआमाको नजिक नभएर भने हैन। अस्ति भर्खरसम्म स्वस्थ हजुरआमा एक्कासि यस्तो अवस्थामा पुग्नुभएको कुरामा मलाई त विश्वास नै लागेन।

सम्झिन त उहाँको अनुहार झलझलि सम्झिरहेको थिएँ। वर्षौँदेखि शीरमा जमरा राखिदिने, निधारमा टीका टाँसिदिने ती नाडीहरू चल्न छोडे भन्ने सुन्दा, कस्सम, मैले पत्याउनै सकिनँ।


काठमाडौंबाट हरेक पटक कोसेली नलिई खालि हात जाने हामीहरूलाई उल्टै के के खानेकुरा खुवाउने ती देवी कसरी यति चाँडै बिदा हुन सक्नुहोला? यो त बिल्कुल असम्भव कुरा हो।

सानो छँदाको कुरा पनि झल्झलि आँखामा आयो। हामी अलि बढि नै चुलबुले थियौँ, छुच्चा थियौँ। बगैंचाको सुन्तला दिनभरि चोर्थ्यौँ- कति खान्थ्यौँ, कति नष्ट गर्थ्यौँ। हजुरबुबाले देख्नुभयो भने गाली गर्नु हुन्थ्यो; हजुरआमा भने `टन्न खाओ´ भन्दै उक्साउनुहुन्थ्यो। हामी नातिनातिना सबै-सबैकि प्यारी हजुरआमा यता हामी कोरोनाको कहरमा फसेर भेट्न जानसम्म नसक्ने परिस्थितिमा गुज्रिरहेको बेला अलप हुन सक्नु होला र?

मनले भनिरह्यो- `अहँ! सक्नुहुन्न!´

सँगसँगै हजुरबुवाको अनुहार पनि सम्झिएँ। यतिबेला चैँ मन एकदम गह्रुङ्गो भयो। सारा जीवन सँगै कटाउनु भएका हजुरबुबाले आमा बिना कसरी सम्हाल्नुहोला आँफूलाई। जाबो चार वर्ष प्रेममा परेको मलाई त यसबाट छुट्टिनु पर्दाखेरि अस्तिनै अलि अघि मरुँलाझैँ भएको थियो, उहाँको त झण्डै एक शताब्दीदेखिको साझा रास्ता (साझा रिस्ता), टुक्रियो भने बाँकी यात्रा बा एक्लै गर्न सक्नुहोला? कठै! `प्रभो, दया राख! हजुआमालाई सञ्चो पारिदेऊ!!´

(केही वर्ष पहिले हजुरआमाको पाठेघरको अपरेसन गरिएको थियो। उहाँ लामो समयसम्म डिप्रेसनमा जानुभयो। अनेक उपाय लगायौँ यद्यपि मेडिकल डक्टरहरूको कुनैपनि आैषधिले उहाँलाई नीको पार्न सकेन। एकजना आफन्तको सुझावमा एउटा आयुर्वेदिक डक्टरको आैषधि खुवाउन थाल्यौँ। होसी/बेहोसीका अनेक भाषा बोल्न बानी पर्नुभएकी, खाने कुरा नखाइदिने, नखाने कुरा खाइदिने, चर्पी जाने चेतसम्म गुमाइसक्नु भएकी हजुरआमा बिस्तारै ठिक हुँदै जानुभयो।)

यसरी बाँच्नुभएकी हाम्री हजुरआमा। लगभग दुई महिना अगाडिमात्रै ती आयुर्वेदिक डक्टरले अंकललाई फोन गरेर `अब आैषधि छुटाइदिनु भए हुन्छ,´ भनेछन्। बिडम्बना आैषधि छुटाएको दुई दिन पनि नबित्दै फेरि हजुरआमालाई पुरानै डिप्रेसनको व्यथाले च्याप्न थाल्यो। फेरि चेत गुमाउँदै जान थाल्नुभयो। आैषधि छुटाएकोमा पछुतो मान्दै अंकलले फेरि आैषधि त खुवाउन थाल्नुभयो तर व्यथा हटेन। अवस्था झनझन नाजुक हुँदै गय‍ो। र उहाँको बैतर्नी पूजा गर्नुपर्ने सम्मको परिस्थिति सिर्जना भयो।

हामी यताबाट लगातार सम्पर्कमा रहिरह्यौँ। नभन्दै भोलिपल्ट आमाको अवस्थामा सुधार देखियो, चेतना नफर्किए पनि नाडीहरु चल्न थाले, उहाँको मुख खुल्यो, "पानी!" अंकलका छोरीहरू (बहिनीद्वय) प्रजना/सृजनाले खुसी हुदैँ झण्डै टिप्लिक्क आँशु नै चुहाए।

अझैपनि लकडाउन कायमै छ। हामी यता साँघुरा कोठाभित्र थन्किएर बस्न बाध्य छौँ। उहाँलाई अझैसम्म सुझबुझको बोली फुटेको छैन। अनेक कुरा बोल्नु हुन्छ अरे, खाने कुरा अझै जबर्जस्ति खुवाउनु पर्ने अवस्था छ अरे। 
`हे बरै, यस्तो खै कहिले सम्म पो हो!´

काश ती आयुर्वेदिक डक्टर अलि बढि दयालु र समझदार हुन्थे त `आ‌ैषधि छुटाइदिनू´ भन्ने थिएनन् सायद। सायद हाम्री हजुरआमा उस्तै मायालु, सचेत, ज्ञानी र सज्जन हुनुहुने थियो। यद्यपि यस्तो भएन। अब त यति मात्रै भन्न सकिन्छ-"नीको पारिदेऊ भगवान हजुरआमालाई। आउने दसैंमा पनि हामी उसैगरि उहाँको हातबाट टीका जमरा लगाउन चाहन्छौँ, उहाँको दिलको आशिर्वाद थाप्न चाहन्छौँ।"

""छिट्टै नीको हुनुस् है, हजुरआमा!?!""


__हजुरको प्यारो नाति,
©सुमन भट्टराई।

No comments:

Post a Comment