Tuesday, 28 April 2020

कविता- "भोकको विद्रोह"

आफ्नै आङको झोलुङ्गोमा
छाउरा-छाउरी चल्ट्याङ-चुल्टुङ झुण्ड्याउँदै
एक कङ्गारू आमा गोडा लतार्दै
हिँडिरहेछु जीन्दगीको किनारै किनार,

बासस्थान पुग्न सके त बाँच्थेँ हुँला . . .

बाटो सबै सिमसार छैन,
बाटोमा जताततै सियाँल छैन,
कतै तातो मरुभूमी जस्तो,
कतै बर्खेभेलको खहरे जस्तो;

पिल्सिँदै-ताछिँदै लम्किरहेछु जसोतसो . . .

यही खाल्डोमा बसौँ, अभाव छ-
रोगबाट त बचुँला, भोकले छोड्दैन,
सिकारीको बन्दुकदेखि लुक्दै-भाग्दै,
जुनकिरीको उज्यालो पछ्याउँदै-

नसके पनि जानु छ, नसके पनि सक्नु छ . . .

बल्लतल्ल भेटेको छु खोला-
धमिलो होस् या दुषित पानी,
पिइनँ भने मर्छु, पिए थाहा छैन-
घुँडा टेक्छु,निहुरिन्छु,मुख डुबाएर टन्न पिउँछु;

अञ्जुली भरेर पिलाउछु बच्चाहरूलाई . . .

भोक कराउँछ- साथमा खानेकुरा छैन,
कतै भेटिन्न मानवताको साइनो यो समय,
घरको अन्न सम्झिन्छु, घुटुक्क थुक निल्छु,
लम्किन्छु-लम्किन्छु बलले भ्याएसम्म-
बाँचे भने रुम्जाटार पुगुँला;

नबाँचे- यसैपनि म यतिबेला घाटमै सुतिरा'छु ||



-सुमन भट्टराई।

"छिट्टै नीको हुनुस् है, हजुरआमा!?!"

केही दिन अगाडिको कुरा हो। लकडाउनमा पिल्सिएका हामी (ठुल्दिदि र म) लुँडो खेल्दै समय व्यतीत गरिरहेका थियौँ। त्यसैबीच (कोरोना सुरु हुनु भन्दा केही दिन अगाडि गाउँ जानुभएको) कृृृृृष्णहरि दाजुको फोन आयो, "कान्छा, के गर्दै छौ?" 

"यसै घाम ताप्दै बसेको।" मैले भनेँ।

"हजुरआमाको वाक्य बस्यो, हामी बैतर्नी पूजा गर्दै छौँ!"

यति सुन्दा नसुन्दै दिदी भक्कानो छोडेर रुन थाल्नु भयो। परिवारकै जेठी सन्तान भएकाले दिदी हजुरआमासँग अलि बढि नै नजिक हुनुहुन्थ्यो, सायद यो त्यसकै प्रभाव थियो। यता म भने खासै भावुक भईनँ। यसको मतलब म हजुरआमाको नजिक नभएर भने हैन। अस्ति भर्खरसम्म स्वस्थ हजुरआमा एक्कासि यस्तो अवस्थामा पुग्नुभएको कुरामा मलाई त विश्वास नै लागेन।

सम्झिन त उहाँको अनुहार झलझलि सम्झिरहेको थिएँ। वर्षौँदेखि शीरमा जमरा राखिदिने, निधारमा टीका टाँसिदिने ती नाडीहरू चल्न छोडे भन्ने सुन्दा, कस्सम, मैले पत्याउनै सकिनँ।


काठमाडौंबाट हरेक पटक कोसेली नलिई खालि हात जाने हामीहरूलाई उल्टै के के खानेकुरा खुवाउने ती देवी कसरी यति चाँडै बिदा हुन सक्नुहोला? यो त बिल्कुल असम्भव कुरा हो।

सानो छँदाको कुरा पनि झल्झलि आँखामा आयो। हामी अलि बढि नै चुलबुले थियौँ, छुच्चा थियौँ। बगैंचाको सुन्तला दिनभरि चोर्थ्यौँ- कति खान्थ्यौँ, कति नष्ट गर्थ्यौँ। हजुरबुबाले देख्नुभयो भने गाली गर्नु हुन्थ्यो; हजुरआमा भने `टन्न खाओ´ भन्दै उक्साउनुहुन्थ्यो। हामी नातिनातिना सबै-सबैकि प्यारी हजुरआमा यता हामी कोरोनाको कहरमा फसेर भेट्न जानसम्म नसक्ने परिस्थितिमा गुज्रिरहेको बेला अलप हुन सक्नु होला र?

मनले भनिरह्यो- `अहँ! सक्नुहुन्न!´

सँगसँगै हजुरबुवाको अनुहार पनि सम्झिएँ। यतिबेला चैँ मन एकदम गह्रुङ्गो भयो। सारा जीवन सँगै कटाउनु भएका हजुरबुबाले आमा बिना कसरी सम्हाल्नुहोला आँफूलाई। जाबो चार वर्ष प्रेममा परेको मलाई त यसबाट छुट्टिनु पर्दाखेरि अस्तिनै अलि अघि मरुँलाझैँ भएको थियो, उहाँको त झण्डै एक शताब्दीदेखिको साझा रास्ता (साझा रिस्ता), टुक्रियो भने बाँकी यात्रा बा एक्लै गर्न सक्नुहोला? कठै! `प्रभो, दया राख! हजुआमालाई सञ्चो पारिदेऊ!!´

(केही वर्ष पहिले हजुरआमाको पाठेघरको अपरेसन गरिएको थियो। उहाँ लामो समयसम्म डिप्रेसनमा जानुभयो। अनेक उपाय लगायौँ यद्यपि मेडिकल डक्टरहरूको कुनैपनि आैषधिले उहाँलाई नीको पार्न सकेन। एकजना आफन्तको सुझावमा एउटा आयुर्वेदिक डक्टरको आैषधि खुवाउन थाल्यौँ। होसी/बेहोसीका अनेक भाषा बोल्न बानी पर्नुभएकी, खाने कुरा नखाइदिने, नखाने कुरा खाइदिने, चर्पी जाने चेतसम्म गुमाइसक्नु भएकी हजुरआमा बिस्तारै ठिक हुँदै जानुभयो।)

यसरी बाँच्नुभएकी हाम्री हजुरआमा। लगभग दुई महिना अगाडिमात्रै ती आयुर्वेदिक डक्टरले अंकललाई फोन गरेर `अब आैषधि छुटाइदिनु भए हुन्छ,´ भनेछन्। बिडम्बना आैषधि छुटाएको दुई दिन पनि नबित्दै फेरि हजुरआमालाई पुरानै डिप्रेसनको व्यथाले च्याप्न थाल्यो। फेरि चेत गुमाउँदै जान थाल्नुभयो। आैषधि छुटाएकोमा पछुतो मान्दै अंकलले फेरि आैषधि त खुवाउन थाल्नुभयो तर व्यथा हटेन। अवस्था झनझन नाजुक हुँदै गय‍ो। र उहाँको बैतर्नी पूजा गर्नुपर्ने सम्मको परिस्थिति सिर्जना भयो।

हामी यताबाट लगातार सम्पर्कमा रहिरह्यौँ। नभन्दै भोलिपल्ट आमाको अवस्थामा सुधार देखियो, चेतना नफर्किए पनि नाडीहरु चल्न थाले, उहाँको मुख खुल्यो, "पानी!" अंकलका छोरीहरू (बहिनीद्वय) प्रजना/सृजनाले खुसी हुदैँ झण्डै टिप्लिक्क आँशु नै चुहाए।

अझैपनि लकडाउन कायमै छ। हामी यता साँघुरा कोठाभित्र थन्किएर बस्न बाध्य छौँ। उहाँलाई अझैसम्म सुझबुझको बोली फुटेको छैन। अनेक कुरा बोल्नु हुन्छ अरे, खाने कुरा अझै जबर्जस्ति खुवाउनु पर्ने अवस्था छ अरे। 
`हे बरै, यस्तो खै कहिले सम्म पो हो!´

काश ती आयुर्वेदिक डक्टर अलि बढि दयालु र समझदार हुन्थे त `आ‌ैषधि छुटाइदिनू´ भन्ने थिएनन् सायद। सायद हाम्री हजुरआमा उस्तै मायालु, सचेत, ज्ञानी र सज्जन हुनुहुने थियो। यद्यपि यस्तो भएन। अब त यति मात्रै भन्न सकिन्छ-"नीको पारिदेऊ भगवान हजुरआमालाई। आउने दसैंमा पनि हामी उसैगरि उहाँको हातबाट टीका जमरा लगाउन चाहन्छौँ, उहाँको दिलको आशिर्वाद थाप्न चाहन्छौँ।"

""छिट्टै नीको हुनुस् है, हजुरआमा!?!""


__हजुरको प्यारो नाति,
©सुमन भट्टराई।

Friday, 24 April 2020

कविता- "बेचैनी"

सुत्न खोजिरहेछु,
सुत्नै सकेको छैन;
सिरानी भरि
काँडा बिछ्याएझैँ लाग्छ।

सायद ती पैतालाहरूले
स्राप पो दिए कि?
जो राजमार्गमा यतिबेला
पैदल हिँडिरहेछन्!!

-सुमन भट्टराई।

कविता- "दृष्टिकोण"

आकाशबाट एउटा तारा खस्यो-
देख्नेहरूले परेला दान गरे।
जो जसले देखेनन्,
उनीहरूको परेला खस्नबाट जोगियो।

देख्न पाउनु पनि सधैं भाग्य हुँदैन,
जस्तो कि- वर्तमान ताण्डव नृत्य।

- सुमन भट्टराई

Sunday, 19 April 2020

कविता- `चरित्र´

सुरुमा भमरोले पारिजातलाई चुम्यो-
पारिजात मख्ख परी।
लगत्त‌ै गएर बेलीलाई चुम्यो।
फर्किँदा पारिजात खसिसकिछ।

उसले शोक मानेन, किनकी ऊ भमरो हो।

-सुमन💚

कविता- "हुटिट्याउँ"

फोटो सुन्दर बनाउन
एक मामुली फोटोग्राफर
फुस्रा पातहरूलाई ब्लर गरेर
अक्सर फोकस फूलमा गर्ने गर्छ।
घर सुन्दर हुने पनि खाँबा/बलाले हो!

यस्तै सोचेर हुटिट्याउँ  उत्तानो पल्टिरह्यो।

-सुमन💚

Friday, 17 April 2020

कविता- "बेमौसमी बाली"

(भ्लादिमिर नाबोकोवको उपन्यास "लोलिता"बाट प्रेरित।)

गोही किन चाहन्छ चट्टानको सितन?
किन चाहन्छ *स्पाइडरलिङ माकुरीको गर्धन?

ओई लोलिता, तँ किन चाहन्छेस्
समयको गर्भबाट निस्कनै नपाई
आफ्नो बालिका नाभी चिमोठ्न?
हरेक आँधीले चैतमास पर्खिन्छ।

मस्त पवनले कुतकुत्याउनु अगावै
रहरको जग्गेमा आँफैलाई घुमाएर
पोइल हिड्न आतुर ए बेसरम केटी!
तेरी आमाको उता चिता जल्दैछ।

यतिबेला जल्नुपर्ने तँभित्रकै लार्भा हो
जुन पुतली हुनु अगावै उड्न चाहन्छ,
जल्नुपर्ने त हम्बर्टको स्वचालित यन्त्र पो,
जो नगोडिँदै मकै बारी जोत्न चाहन्छ।

अपुष्ट कलस केहीबेर यथावतै राख्;
र जा! आफ्नी  आमाको  उद्दार गर्!
जल्नैपर्ने यतिबेला नाबोकोव स्वयम् हो-
न कि सार्लोट र उनको तँमाथिको स्वप्न!

रुक् ए केटी! बरु बस् र केहीबेर ध्यान गर्-
अस्तु किन चाहन्छ कालिगडको लोहोटा?

©सुमन भट्टराई।

(नोट- *स्पाइडर्लिङ= माकुराको बच्चा)

Thursday, 16 April 2020

कविता- "प्रेम"

घामले मलाई नजिक हुँदै हेर्यो,
मैले नजर मिलाउनै सकिनँ!
ऊ चम्किलो र गरम त अवश्य थियो;

यद्यपि प्रेमले ताप हैन, शीतलता खोज्ने रहेछ।

©सुमन भट्टराई।

Wednesday, 15 April 2020

कविता- "डोमाको झुट"

आजकल डोमा पनि बाठी भएकी छे।
खुब झुठो बोल्छे!
"झुट बोलिस्?" छिरिङ सोध्छ।
डोमा "हैन" भन्छे।
छिरिङ फेरि सोध्छ,"मलाई थाहा हुन्न भन्ठान्या?"
डोमा रिसाउँदै जवाफ फर्किउँछे-
"जे बुझ्दा तिम्लाई ठिक लाग्छ, त्यही बुझ!"
सब थाहा पाएर पनि निरीह हुँदै छिरिङ चुप बस्छ।

डोमा कता कता को-को सँग व्यस्त हुन्छे।
छिरिङ सोध्छ- "ओई, कोसँग बिजी के?"
ढिला गर्दै डोमा रिप्लाई गर्छे-
कैले "चर्पीमा थिएँ" भन्छे,
कैले "सिरक पट्याउदै थिएँ,"
त कहिले "सिँगान पुछ्दै थिएँ" भन्छे।
 ऊ फेरि पनि झुठो नै बोलिरहेकी छे।
तर पनि छिरिङ केही भन्दैन।

कैलेकाहीँ त डोमा हद गर्छे।
उसलाई फोन गर्दा टेलिकमकि नानीले रिसिभ गर्छिन्-
"तपाईंले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ!"
छिरिङ म्यासेज गर्छ- "कत्ति ब्यस्त के तेरो फोन!"
डोमा फेरि रिसाईदिन्छे,"ह्या, तिमी नि त्यसै आरोप लगाउँछौ!
कोसँग बिजी थिएँ र म?
ए अँ! म आमासँग बोल्दै थिएँ।"
उसले फेरि पनि झुठो बोली।

`खाजा खाई/खाईन? भोकै पो बसि कि?´
`पिरियड भएको थियो, गुन्दुक पो खाइदिई कि?´
चिन्तित हुदै छिरिङ सोध्छ- "ओई, खाजा खाइस्?"
नखाँदा पनि ऊ "खाएँ" भन्छे;
"के खाईस्?" भन्दा अकमकाउँछे।
फेरि पनि उसले झुठो बोली।
फेरि पनि छिरिङलाई थाहा भयो।
फेरि पनि ऊ चुप नै बसिदियो।

छिरिङ सदा चुप बस्न बाध्य हुनुको कारण-
यो सब कुनैबेला डोमालाई उसैले सिकाएको हो।
.....
.....

©सुमन भट्टराई।
(चटपटा प्रेम गर्ने सबैसबै प्रति समर्पित। 😊😊)

Tuesday, 14 April 2020

कविता- "जुनकिरीहरू किन आउँछन्?"

खासै नौलो बाटो त हिँडेको हैन!
उही गाउँको चञ्चल रैथाने म,
उही गाउँको अचल गोरेटो-
लाग्छ-आँखा चिम्लेरै हिँडिदिन सक्छु;
गोडाहरूले आवश्यक लय पक्रिसकेका छन्।

र पनि आउँछन् जुनकिरीहरू-
आफ्नै पिठ्युँ जलाएर बाटो देखाउछन्।

सायद उनीहरूलाई लाग्दो हो-
`बाटो उही भए पनि मान्छे बदलिन सक्छ!´
कोही आजै पो मेरो शत्रु बन्यो कि?

अनि थाप्यो कि- मेरो बाटोमा एम्बुस!!

©सुमन भट्टराई।

Sunday, 12 April 2020

कविता- `उनी को हुन्?´

गदगद हुँदै उनले `छोरा´ भनिन्;
उसले `आमा´ भनेन,
न त खुसी नै भयो!

बरु खन्नियो वाचम्यान माथि-
`कसरी घरभित्र पस्यो यो पलाँसको कप्टेरो?´

उनका शव्दहीन आँखाले अर्थहीन आँसु किन खसाले कुन्नि?

धर्मराएका पाइलाहरू लतारिँदै फर्किए उही बाटो;
अब उनी जसरी पनि पुग्नु छ गाउँ,
र पुनः उठाउनु छ ढलेको झुपडी-

सासलाई कतै न कतै त बास दिनै पर्यो...!

©सुमन भट्टराई।

Thursday, 9 April 2020

`लकडाउनले लक गर्न नसकेको मन...´


लीमा (भान्जी) सात वर्षकि छिन्। अनेक राम्रा नराम्रा आदतहरू मध्ये सानातिना बदमासीहरू गरिरहनुपर्ने उनको सबैभन्दा प्रिय आदत हो।  बोलिरहनुपर्ने उनको अर्को आदत हो। चुलबुल-चञ्चल खेलिरहनु पर्ने अर्को आदत।

यति सानै उमेरमा उनी घुम्न रुचाउँछिन्, कता-कता गइरहन उनलाई खुब मनपर्छ। तीन वर्षको उमेरदेखि नै बाबामामुलाई छोडेर उनी मामाहरूसँग मामाघर जान्थिन्। यसपालि पनि उनको पाठशालाले दिनको तीन-तीन वटा विषयको जाँच लिएर भए पनि हतारमा परीक्षा सक्काएर विदा दिएपछि उनी मामाघर जान्छु भन्दै मामुसँग गनगन गर्न थालिन्।


लकडाउनको एकदिन अगाडि मामा उनलाई लिन गईस्यो र लिएर आईस्यो। त्यस दिनदेखि मामाको अक्सर समय उनीसँगै। रहर/बाध्यता जे नै पनि होस्, आजकल भान्जीको बानियाँटार मामाको मच्छेगाउँदेखि निक्कै टाढा भएको छ। गाडीहरू चल्दैनन्, हिँड्न पाइँदैन।

घाम ताप्ने आँगनसम्म त ठिकै हो, उनी खेल्ने मामाको घर अगाडिको खुला मैदान पनि उनका लागि खुला छैन। उनी त्यहाँ हावा खान सम्म जान सक्दिनन्। यदि पुगिहालिन् भने पनि `पुलिस अंकल´ आएर घुरेर हेर्छन्। डराएर भाग्दै उनी गेटभित्र छिर्छिन्। पुलिस अंकल त त्यहाँ बसिरहँदैनन् र पनि फेरि फर्केर उनी त्यहाँ जानेे आँट गर्न सक्दिनन्।

मामासँग घरभित्र `हाइड एन' सीक´ पनि कति खेल्नु, जति डुले नि एउटा फ्ल्याट भित्र कति नै लुक्ने ठाउँ हुन्छ र? आज त अति भयो; दिउँसोसम्म त जसोतसो टिभीको कार्टुनले तान्यो। अब त उनी त्यहाँ पनि अडिन नसक्ने भईन्।

अस्तिको पुलिस अंकलको घुराई अझै भुल्न सकेकी त थिइनन्, यद्यपि उनलाई बाहिर जाने ईच्छा तिब्र हुँदै आयो। `जाबो त्यहीँसम्म जाँदा त के नै हुन्छ र? कोही हुन्नन् त त्यहाँयस्तो भन्दै आँफैसँग एकछिन गन्गनाईन्। एक्लै जाने आँट त कहाँ... त्यसपछि उनी मामाको सहारा लिन बाध्य भईन्।

`
मामा प्लिज एकछिन बाहिर चहुर सम्म हिँडिस्यो न, अत्ति झ्याउ लाग्यो भित्र बस्दा-बस्दा। लेट्स ह्याव सम फ्रेस एयर, प्लिज...!´

मामासँगै गईन्। आनन्द मानेर यताउता दगुर्न थालिन्। त्यसैबीच नआएका पुलिस अंकल पनि आएझैँ मामाले उनलाई तर्साई दिस्यो। उनी झसङ्ग भएर मामातिर आईन्। अनि मामाले झुट बोलेको भन्दै एक मुक्का मामाको ढाडमा हानिन्। त्यहाँ धेरैबेर बसिरहने इजाजत कहाँ...?

रपनि उनलाई नजिकैको मन्दिरसम्म त जसरी पनि जानु थियो। `मामा सुनिस्यो न! अब मलाई यहाँ बस्न पुग्यो। लेट्स् गो सम ट्वायन्टी मिटर्स अनवार्ड। अनि मन्दिरको घन्टी बजाएर फर्किउँला।´ मामा-भान्जी त्यहाँसम्म पुगेपछि मामाले भगवानको दर्शन गरिस्यो, उनले घण्टी बजाईन्। दुईचार वटा फोटो पनि खिचिए। उनको अनुरोधमा मामाले घण्टी बजाएको भिडियो पनि बनाइदिस्यो।

उनलाई मन्दिर भगवानको दर्शन गर्ने भन्दा बढि घण्टी बजाउने ठाउँजस्तो लाग्छ। मन लागेको कुरा माग्ने त बाबा-मामूसँग पो, मामासँग पो

`
अब टेन स्टेप्स् अरु अगाडि जाम् ल? ... त्यो पसलसम्म? मलाई स्निकर्स खान मन छ।´ विचरा उनको चकलेट खाने रहर पनि दबिएर रह्यो यत्रो दिन! स्निकर्स पाइएन। तीन-चौथाई भाग बन्द गरिएको सटरबाट निहुरेर मामाले एक पोको दूध र एउटा डेरी मिल्क किनिस्यो।

उनलाई डेरी मिल्क चैँ मामाको हातबाट खोसेर त्यहीँ खाईहाल्न मन थियो। फेरि सम्झिन्- `पहिले साबुन-पानीले हात धुनुपर्छ´ किनकि उनले घरबाट बाहिर निस्केदेखि यतिन्जेल सम्म चहुरको दुबो छुइन्, छेउको तितेपातीको बोट, मामाको ढाड, पसलको गेट, अनि मन्दिरको घण्टी छुईन्। अरु बेला जे होला, यतिबेला भने उनलाई थाहा छ- चहुरको दुबो र मन्दिरको घण्टी पनि कोरिना सार्ने माध्यम हुन सक्छन्। मन्दिरका भगवानले बचाउन सक्ने अवस्था कमसेकम यतिबेला छैन।

घरभित्र आईन्, चकलेटको भोकले मुख जति सुकै रसाओस्, मज्जाले मिचिमिचि डेटोलले हात धोईन्। यसरी उनको आज दिउँसोको दस मिनेट लकडाउन हुनुभन्दा अगाडिको सामान्य दिनचर्या जसरि बित्यो। यता मामालाई यस्तो लाग्यो- `लकडाउनले मन त पूर्णतया लक गर्न नसक्ने रहेछ।´

अब फेरी उही पुरानो दिन कहिले आउला? उही समयमा फर्किन पाइएला कि सधैँ यस्तै‌ होला? उनी मन भुलाउने कोसिसमा डेरी मिल्कको खोल च्यात्न थालिन्। मामा यता छेउमा उनैलाई हेर्दै भावुक हुँदै टोलाइस्याथ्यो तर आँसु चैँ आएन।

ए साँच्चै, मामाको आँखामा टियर ड्रप्स हाल्ने बेला भयो। उनैले सम्झाईन्। मामा झसङ्ग भएर फेरि वास्तविकता तिर फर्किस्यो।

©
सुमन भट्टराई।
#lockdowndiaries