Wednesday, 15 April 2020

कविता- "डोमाको झुट"

आजकल डोमा पनि बाठी भएकी छे।
खुब झुठो बोल्छे!
"झुट बोलिस्?" छिरिङ सोध्छ।
डोमा "हैन" भन्छे।
छिरिङ फेरि सोध्छ,"मलाई थाहा हुन्न भन्ठान्या?"
डोमा रिसाउँदै जवाफ फर्किउँछे-
"जे बुझ्दा तिम्लाई ठिक लाग्छ, त्यही बुझ!"
सब थाहा पाएर पनि निरीह हुँदै छिरिङ चुप बस्छ।

डोमा कता कता को-को सँग व्यस्त हुन्छे।
छिरिङ सोध्छ- "ओई, कोसँग बिजी के?"
ढिला गर्दै डोमा रिप्लाई गर्छे-
कैले "चर्पीमा थिएँ" भन्छे,
कैले "सिरक पट्याउदै थिएँ,"
त कहिले "सिँगान पुछ्दै थिएँ" भन्छे।
 ऊ फेरि पनि झुठो नै बोलिरहेकी छे।
तर पनि छिरिङ केही भन्दैन।

कैलेकाहीँ त डोमा हद गर्छे।
उसलाई फोन गर्दा टेलिकमकि नानीले रिसिभ गर्छिन्-
"तपाईंले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ!"
छिरिङ म्यासेज गर्छ- "कत्ति ब्यस्त के तेरो फोन!"
डोमा फेरि रिसाईदिन्छे,"ह्या, तिमी नि त्यसै आरोप लगाउँछौ!
कोसँग बिजी थिएँ र म?
ए अँ! म आमासँग बोल्दै थिएँ।"
उसले फेरि पनि झुठो बोली।

`खाजा खाई/खाईन? भोकै पो बसि कि?´
`पिरियड भएको थियो, गुन्दुक पो खाइदिई कि?´
चिन्तित हुदै छिरिङ सोध्छ- "ओई, खाजा खाइस्?"
नखाँदा पनि ऊ "खाएँ" भन्छे;
"के खाईस्?" भन्दा अकमकाउँछे।
फेरि पनि उसले झुठो बोली।
फेरि पनि छिरिङलाई थाहा भयो।
फेरि पनि ऊ चुप नै बसिदियो।

छिरिङ सदा चुप बस्न बाध्य हुनुको कारण-
यो सब कुनैबेला डोमालाई उसैले सिकाएको हो।
.....
.....

©सुमन भट्टराई।
(चटपटा प्रेम गर्ने सबैसबै प्रति समर्पित। 😊😊)

Tuesday, 14 April 2020

कविता- "जुनकिरीहरू किन आउँछन्?"

खासै नौलो बाटो त हिँडेको हैन!
उही गाउँको चञ्चल रैथाने म,
उही गाउँको अचल गोरेटो-
लाग्छ-आँखा चिम्लेरै हिँडिदिन सक्छु;
गोडाहरूले आवश्यक लय पक्रिसकेका छन्।

र पनि आउँछन् जुनकिरीहरू-
आफ्नै पिठ्युँ जलाएर बाटो देखाउछन्।

सायद उनीहरूलाई लाग्दो हो-
`बाटो उही भए पनि मान्छे बदलिन सक्छ!´
कोही आजै पो मेरो शत्रु बन्यो कि?

अनि थाप्यो कि- मेरो बाटोमा एम्बुस!!

©सुमन भट्टराई।

Sunday, 12 April 2020

कविता- `उनी को हुन्?´

गदगद हुँदै उनले `छोरा´ भनिन्;
उसले `आमा´ भनेन,
न त खुसी नै भयो!

बरु खन्नियो वाचम्यान माथि-
`कसरी घरभित्र पस्यो यो पलाँसको कप्टेरो?´

उनका शव्दहीन आँखाले अर्थहीन आँसु किन खसाले कुन्नि?

धर्मराएका पाइलाहरू लतारिँदै फर्किए उही बाटो;
अब उनी जसरी पनि पुग्नु छ गाउँ,
र पुनः उठाउनु छ ढलेको झुपडी-

सासलाई कतै न कतै त बास दिनै पर्यो...!

©सुमन भट्टराई।

Thursday, 9 April 2020

`लकडाउनले लक गर्न नसकेको मन...´


लीमा (भान्जी) सात वर्षकि छिन्। अनेक राम्रा नराम्रा आदतहरू मध्ये सानातिना बदमासीहरू गरिरहनुपर्ने उनको सबैभन्दा प्रिय आदत हो।  बोलिरहनुपर्ने उनको अर्को आदत हो। चुलबुल-चञ्चल खेलिरहनु पर्ने अर्को आदत।

यति सानै उमेरमा उनी घुम्न रुचाउँछिन्, कता-कता गइरहन उनलाई खुब मनपर्छ। तीन वर्षको उमेरदेखि नै बाबामामुलाई छोडेर उनी मामाहरूसँग मामाघर जान्थिन्। यसपालि पनि उनको पाठशालाले दिनको तीन-तीन वटा विषयको जाँच लिएर भए पनि हतारमा परीक्षा सक्काएर विदा दिएपछि उनी मामाघर जान्छु भन्दै मामुसँग गनगन गर्न थालिन्।


लकडाउनको एकदिन अगाडि मामा उनलाई लिन गईस्यो र लिएर आईस्यो। त्यस दिनदेखि मामाको अक्सर समय उनीसँगै। रहर/बाध्यता जे नै पनि होस्, आजकल भान्जीको बानियाँटार मामाको मच्छेगाउँदेखि निक्कै टाढा भएको छ। गाडीहरू चल्दैनन्, हिँड्न पाइँदैन।

घाम ताप्ने आँगनसम्म त ठिकै हो, उनी खेल्ने मामाको घर अगाडिको खुला मैदान पनि उनका लागि खुला छैन। उनी त्यहाँ हावा खान सम्म जान सक्दिनन्। यदि पुगिहालिन् भने पनि `पुलिस अंकल´ आएर घुरेर हेर्छन्। डराएर भाग्दै उनी गेटभित्र छिर्छिन्। पुलिस अंकल त त्यहाँ बसिरहँदैनन् र पनि फेरि फर्केर उनी त्यहाँ जानेे आँट गर्न सक्दिनन्।

मामासँग घरभित्र `हाइड एन' सीक´ पनि कति खेल्नु, जति डुले नि एउटा फ्ल्याट भित्र कति नै लुक्ने ठाउँ हुन्छ र? आज त अति भयो; दिउँसोसम्म त जसोतसो टिभीको कार्टुनले तान्यो। अब त उनी त्यहाँ पनि अडिन नसक्ने भईन्।

अस्तिको पुलिस अंकलको घुराई अझै भुल्न सकेकी त थिइनन्, यद्यपि उनलाई बाहिर जाने ईच्छा तिब्र हुँदै आयो। `जाबो त्यहीँसम्म जाँदा त के नै हुन्छ र? कोही हुन्नन् त त्यहाँयस्तो भन्दै आँफैसँग एकछिन गन्गनाईन्। एक्लै जाने आँट त कहाँ... त्यसपछि उनी मामाको सहारा लिन बाध्य भईन्।

`
मामा प्लिज एकछिन बाहिर चहुर सम्म हिँडिस्यो न, अत्ति झ्याउ लाग्यो भित्र बस्दा-बस्दा। लेट्स ह्याव सम फ्रेस एयर, प्लिज...!´

मामासँगै गईन्। आनन्द मानेर यताउता दगुर्न थालिन्। त्यसैबीच नआएका पुलिस अंकल पनि आएझैँ मामाले उनलाई तर्साई दिस्यो। उनी झसङ्ग भएर मामातिर आईन्। अनि मामाले झुट बोलेको भन्दै एक मुक्का मामाको ढाडमा हानिन्। त्यहाँ धेरैबेर बसिरहने इजाजत कहाँ...?

रपनि उनलाई नजिकैको मन्दिरसम्म त जसरी पनि जानु थियो। `मामा सुनिस्यो न! अब मलाई यहाँ बस्न पुग्यो। लेट्स् गो सम ट्वायन्टी मिटर्स अनवार्ड। अनि मन्दिरको घन्टी बजाएर फर्किउँला।´ मामा-भान्जी त्यहाँसम्म पुगेपछि मामाले भगवानको दर्शन गरिस्यो, उनले घण्टी बजाईन्। दुईचार वटा फोटो पनि खिचिए। उनको अनुरोधमा मामाले घण्टी बजाएको भिडियो पनि बनाइदिस्यो।

उनलाई मन्दिर भगवानको दर्शन गर्ने भन्दा बढि घण्टी बजाउने ठाउँजस्तो लाग्छ। मन लागेको कुरा माग्ने त बाबा-मामूसँग पो, मामासँग पो

`
अब टेन स्टेप्स् अरु अगाडि जाम् ल? ... त्यो पसलसम्म? मलाई स्निकर्स खान मन छ।´ विचरा उनको चकलेट खाने रहर पनि दबिएर रह्यो यत्रो दिन! स्निकर्स पाइएन। तीन-चौथाई भाग बन्द गरिएको सटरबाट निहुरेर मामाले एक पोको दूध र एउटा डेरी मिल्क किनिस्यो।

उनलाई डेरी मिल्क चैँ मामाको हातबाट खोसेर त्यहीँ खाईहाल्न मन थियो। फेरि सम्झिन्- `पहिले साबुन-पानीले हात धुनुपर्छ´ किनकि उनले घरबाट बाहिर निस्केदेखि यतिन्जेल सम्म चहुरको दुबो छुइन्, छेउको तितेपातीको बोट, मामाको ढाड, पसलको गेट, अनि मन्दिरको घण्टी छुईन्। अरु बेला जे होला, यतिबेला भने उनलाई थाहा छ- चहुरको दुबो र मन्दिरको घण्टी पनि कोरिना सार्ने माध्यम हुन सक्छन्। मन्दिरका भगवानले बचाउन सक्ने अवस्था कमसेकम यतिबेला छैन।

घरभित्र आईन्, चकलेटको भोकले मुख जति सुकै रसाओस्, मज्जाले मिचिमिचि डेटोलले हात धोईन्। यसरी उनको आज दिउँसोको दस मिनेट लकडाउन हुनुभन्दा अगाडिको सामान्य दिनचर्या जसरि बित्यो। यता मामालाई यस्तो लाग्यो- `लकडाउनले मन त पूर्णतया लक गर्न नसक्ने रहेछ।´

अब फेरी उही पुरानो दिन कहिले आउला? उही समयमा फर्किन पाइएला कि सधैँ यस्तै‌ होला? उनी मन भुलाउने कोसिसमा डेरी मिल्कको खोल च्यात्न थालिन्। मामा यता छेउमा उनैलाई हेर्दै भावुक हुँदै टोलाइस्याथ्यो तर आँसु चैँ आएन।

ए साँच्चै, मामाको आँखामा टियर ड्रप्स हाल्ने बेला भयो। उनैले सम्झाईन्। मामा झसङ्ग भएर फेरि वास्तविकता तिर फर्किस्यो।

©
सुमन भट्टराई।
#lockdowndiaries

Thursday, 12 December 2019

I had the Fear of Losing you and I am Losing You


I couldn't say, "I love you!"

My heart is now sure
that no one can 
take her place in it.

 It imagines her 
being in its centre 
even after 100 years.

Yes, for thousand times, 
I've imagined her being my breath 
for whom I respire.

My ears
hear her voice
in the air.

These eyes look at a far distance 
they see her
coming closer and closer; 

when she passes by me,
she disguises
 as someone else.

My arms hug her every night
and throw the pillow away 
in the morning. 

I couldn't confess my love. 
I often wonder, 
"Did she ever love me?"

Please 'Gauthali!'
I had the fear of losing you 
and I am losing you;_

_if you love me, just tell me, 
I will jump over the sky 
and bring all the happiness in my soul_

_and will make you feel 
I was the only deserving shoulder 
on whom you could rely on.


@Suman Bhattarai

Weird but Wonderful Contemplation while Having the Job of Joblessness

 As it is..... :(
NEPAL 
"My country is the land of Gautam Buddha and Mt. Everest." This is all what we have as identity which we are carrying for many centuries. And we bloody fool people living under the shade of this country are supposed to be proud being Nepali citizen. We don't need economic prosperity, actually we don't want to have an amazing life. Subsistence and survival! Bitter but TRUE! We overemphasise this agenda and survive under the absolute poverty line. We don't have food to fill our stomach and still we are singing "Proud to be Nepali!" Hell YEAH... but NO!!
 It's been over three months since I am searching for a job to feed my belly and wear on some warm clothes for my winter. I am an educated person who can work under any pressure. But the fact is I have to be someone's cousin or cousin's friend; someone's brother or in law or close friend to get a job. My academic qualification and my work experience doesn't work, but I have to be 'HIS RELATIONSHIP'. This serves but not anything else.
Because of my joblessness, I am frustrated either I will be surviving in this city or not. What a pathetic situation one goes through when he doesn't have money to spend and bread to fill his belly! I had once pioneered one principle, "We sell bread to earn bread." But now I have come to realise that we can't always sell the bread. It demands someone's permission to do so. Otherwise, this earth can be no earth for you at all to live and cheer up the moments. This is all I want to say!!
"Tomorrow, the birds will sing! Be Brave!! Face LIFE!!!" A quote I saw in the film CITY LIGHTS. Long live Mr. Charlie Chaplin!! 
Bloody LIFE! I can't resign you. So, this is what I am hoping to happen TOMORROW!!

"Tomorrow, the birds will sing! Be Brave!! Face LIFE!!!" 

Wednesday, 18 September 2019

`नव खुसी´

कलेजबाट फर्किँदा अलिक ढिला भएको थियो। दिनभर पानी परेर झिँझो लाग्दो बनेको दिन एक्कासि गरम भयो। क्षितिजमा अनौठो चमक देखियो। एकछिन अगाडि माईक्रोमा भोग्नु परेका दिक्दारी पनि क्षणभरमै भुलेँ।

दादा-भाउजू पनि म घर पुगेको केही छिन पछि आईपुग्नु भयो। ठट्टाको भाषामा मस्कुराउँदै भाउजूले सुनाउनु भयो, "कान्छी दिदिले छोरो जन्माउनु भयो नि, कान्छा!"

मैले पत्याइनँ। उत्तिनै खेर भनेँ,"जन्माउनु भएर बल्ल म‌ैले थाहा पाउने पनि कहीँ कुरा हुन्छ? व्यथा लाग्न थाल्नेबित्तिकै खवर आउँछ मलाई। आखिर अस्पतालमा कुरुवा नै मै बस्ने हो।"

यसरी जिस्किँदा जिस्किँदै डिनर टाइम भयो। त्यस्तै आठ बज्न लाग्दा हामी मसरुम सुपमा बोइल्ड एग मिसाएर खाँदै थियौँ। मेरो फोनको रिङटन मेरो कानमा ठोक्कियो। हतारँदै फोन हेरेँ, कान्छो भिनाजुले गर्नु भएको रहेछ। हतारिँदै रिसिभ गरेँ र हेलो पनि नभनी एकै सासमा सोधेँ,"कता हुनुहुन्छ भिनाजु?"

"सुमन! सुन न म दिदिलाई व्यथाले च्यापेर उसलाई लिएर अस्पताल आको छु। लौ न, हामीलाई साथी आइदिनु पर्यो।" भिनाजुले पनि एकै सासमा आफ्ना पुकार सुनाउनु भयो।

नभन्दै दिदिलाई व्यथा लागेको कुरा मैले नैँ पहिले थाहा पाएँ र म नै अस्पताल जाने भएँ। हतारिएर `मैले जितेँ´ को भाषामा दादा-भाउजुलाई सुनाएँ, "दिदिलाई व्यथाले च्याप्यो र म अस्पताल जानुपर्ने भयो। लौ दाजु मलाई बाईकमा अस्पतालसम्म पुर्याइदिनु!"

दाजुले उहाँलाई पनि अस्पतालमा बस्न मन भएको रहर जारी गर्नुभयो। घरमा भाउजू एक्लै हुनुहोला भनेर मैले "म गएसि हुन्छ अहिलेलाई, हजुरहरू बिहानु आउनु न!" भनेँ।

दुवैेले स्विकारोक्ति जनाउँदै गर्दा भाउजू भने मैले झैँ जित्न चाहनु भयो, हार्न चाहनु भएन। भन्नुभयो,"मैले भनेको कस्तो लाग्यो कान्छा? आखिर दिदी अब आमा हुनुहुने भयो नि मैले अनुमान गरेकै समयमा!"

मैले मुसुक्क हाँसेर उहाँको कुरा मानेँ। त्यसै समयमा हामीले छोरा कि छोरी भन्दै बाजि पनि टेक्यौँ। दाजु र मैले `छोरा हुन्छ´ भन्यौँ। भाउजुले छोरी हुने कुरामा जोड दिनुभयो। दाजुले बाजि जित्नेले पाउने अनौठो रकमको चक्र प्रस्ताव गर्नुभयो। उहाँले भाउजुतिर हेर्दै भन्नुभयो,"मैले हारेँ भने म तिमीलाई हजार रुपैयाँ तिर्छु, तिमी कान्छालाई हजार रुपैयाँ तिर र कान्छाले मलाई हजार रुपैयाँ तिर्छ।"

एकलट हामी मज्जाले हाँस्यौँ। भाउजुले जिस्किँदै दाजुलाई, "तिमी कति चलाख, बू!" भनिजानु भयो। मैले पनि भाउजुको कुरामा सहमति जनाएँ।

दाजु र म अस्पताल तिर लाग्यौँ। डक्टरले दिएको मिति असोज ३ गते थियो, आज बल्ल भदौ ३१ हुँदै थियो। दिदी अगाडि नै हलुङ्गो हुनुहुने भयो। तर मलाई कता कता अवचेतन मनमा लागिरह्यो, `म पनि असोजमा जन्मिएको, मेरो भान्जो/भान्जीले पनि असोजमै जन्म लिउन्।´

अस्पताल पुग्दा भिनाजुको अनुहार अति नै निन्याउरो देखेँ। सायद दिदिको मायाले होला। दिदीको अनुहारमा झन धेरै डर र पीडाका चित्रहरू कोरिएका थिए। यसैबीच दिदी भिनाजुलाई खानाको बन्दोबस्त गर्यौँ।

१० बजेतिर दिदि लेवर रुममा एड्मिट हुनु भयो। लेवर रुमको ढोकामा पुग्नु भएको दिदिलाइ ढाडस दिँदै भनेँ, "नआत्तिनु दिदी, सब ठिक हुन्छ।" रपनि म आँफै पनि थोरबहुत आत्तिरहेको थिएँ। भिनाजुको अनुहार अझ बढि मलिन र गम्भीर थियो। भिनाजु सोही रुमको ढोकामा बस्छु भन्नुभयो, म बाहिर आएर म्याट्रेस ओछ्याएर आराम गर्दै आधा पढेको `गुलाबी उमेर´ कन्टिन्यू गर्न थालेँ।

नभन्दै कुर्दा कुर्दै रातको १२ बज्यो र असोज १ गति पनि भयो। यसरी बच्चा असोजमा नै जन्मिने भए पछि थोरै भए पनि म फुरुङ्ग भएँ।

प्रसुति वार्ड अगाडि अस्पतालमा कुरुवा हरूको खचाखच थियो। अधिकांश कुरुवाहरू निन्याउरो अनुहार लगाइरहेका थिए। केही अस्थिर थिए। भर्खर असोज लागेको भए तापनि रातको समय भएर र दिनभर पानी परेकाले आज अलिक बढि नै चिसो थियो। त्यसै कारण केही कुरुवा जाडो मानेर सिउसिउ गर्दै बसेका थिए।

त्यसैबीच उपन्यास पढिरहेको मलाई देखेर एउटी कुरुवा दिदिले सोधिहालिन्,"बाबुको घर कता नि?"

मैले मुस्कुराउँदै जवाफ दिएँ,"उदयपुर हो दिदी।"

उनकै आमा हुनुपर्छ, अर्कि महिलाले सोधिन्,"कति ज्ञानी देखिनुहुन्छ, के पढ्दै हुनुहुन्छ बाबू?"

फुरुक्क फुर्किँदै मैले भनेँ,"उपन्यास पढ्दै छु आमा टाइम पास गर्न अलिक सजिलो होला कि भनेर।"

दिदिले भनिन्, "मेरो बुडालाई पनि असाध्यै पुस्तक पढ्नुपर्छ। पुस्तकको नशा पनि रक्सी चुरोटको जस्तै हुने रहेछ क्या।" उनले जस्तो नियतले भनेको होस् मलाई पुस्तकको नशालाई कुलत सँग जोडेको चैँ फिटिक्कै मन परेन। केही जवाफ नफर्काई मुहारमा मुस्कान कायमै राख्ने प्रयास गर्दै म फेरि उपन्यासमै लीन भएँ।

प्रसुति कक्षबाट चित्कारका आवाजहरू आइरहेका थिएँ। कति नारीहरू आफ्नै शरीर चिरेर `नयाँ खुसी´ देख्न पाउने आशा र विस्वासमा शरीरले सकेसम्मको बल गरिरहेका थिए। आमा बन्न सजिलो हुँदैन भन्ने त थाहा थियो, तर यतिसम्म गाह्रो हुन्छ भनेर चैँ पहिलो चोटि थाहा पाएँ।

मनमनै कल्पना र प्रार्थना गरिरहेको थिएँ, `मेरी दिदिले चाँडै हलुङ्गो हुन सक्नुहोस्, त्यति गाह्रो नहोस्!"

भवन नै उचाल्ने चिच्याहटहरुमाझ मन भने अति नै अस्थिर थियो। सोही कारण मेरो मनको प्रार्थनाको ध्वनी पनि मनमनै बढ्दै गईरहेको थियो, `दिदिलाई त्यतिधेरै गाह्रो नहोस्!´

बेचैनी धेरै नै बढेपछि म पनि प्रसुति कक्षको ढोकामा पुगेँ। भिनाजुले थोरै ढोका उघारिदिँदै दिदिको सैयाँतिर देखाउनु भयो। भित्र नियालेको मात्र के थिएँ, दिदी रुँदै बसेको देखेँ। मन थामि नसक्नु भयो, मुटु दुख्न पो थाल्यो।

"उफ! सिद्धि विनायक! दिदिलाई धेरै गाह्रो नहोस्, प्रभो!!"

माहोललाई सकेसम्म सामान्य बनाउने प्रयासमा भिनाजु बेला बेला ठट्टा गर्नुहुन्थ्यो तर उहाँकै अनुहार मेरो भन्दा बढि मलीनो र त्रसित थियो।

दिदी अरु आत्तिन थाल्नुभयो। दुखाइ धेरै भएर होला, भिनाजुसँग "म त आफै जन्माउन सक्दिनँ जस्तो छ, डक्टरलाई अपरेसन गरिदिनु भन्नू न!" भन्न थाल्नु भयो। उहाँ रोएको मैले त हेर्न सकिनँ। बरु आँखा चिम्लेर बाहिरै सुस्ताउनु उचित लाग्यो। भिनाजुलाई `केही पर्यो भने फोन गर्नु ल!´ भन्दै म त भागेँ।

`मनको आँत दरिलो होस्´ भनेर अस्पतालको क्यान्टिनमा गएर मैले तीन खेप कफी सुर्क्याइसकेको थिएँ। भिनाजु भने केही पनि खान मानिरहनु भएको थिएन। बरु दिदिलाई बेलाबेला सुप लगिदिइ रहनु भएको थियो। हामीले सल्लाह गर्यौँ, `बरु व्यथा लाग्ने अौषधि दिइहाले हुने!´ दिदी छटपटाइरहेको देखिरहने धैर्य नभएर यस्तो लागेको होला, नत्र त हामीभन्दा डक्टरहरू नै धेरै सिपालु हुन्छन्।

प्रतीक्षा कक्षमा बसेरै मैले `गुलाबी उमेर´ पढेर सक्काएँ। थोरै ट्र्याजिक सेन्स लगाएर हेरेँ र थोरै इन्लाइटन्ड पनि भएँ। तर मेरी दिदी अझै हलुङ्गी हुन समय लाग्यो। बच्चा प्राप्ति पछिको दिदिको इन्लाइटन्ड फेस हेर्न केही समय अरू कुर्नु पर्ने भयो।

आठ बजे बल्ल डक्टरले दिदिलाई क्रोनिक व्यथा लाग्ने अौषधि दिए। त्यतिकैमा भिनाजुको सल्लाह बमोजिम म घर आएँ। बाटोछेउछाउका बुढानिलकण्ठका खेतहरूमा झुल्न थालेका धानका गाभाहरूलाई देख्दा पनि दिदिकै सम्झना आइरहेको थियो। दिदिको बच्चा शारदीय हुन लागेकोमा मनमनै खुसी पनि भएँ।

नुहाएर आफूलाई सफा पारेँ, हलुका बनाए, अनि मनमनै फेरि भगवान पुकारेँ, `दिदिलाई छिटै हलुङ्गी बनाएदेउ प्रभो। उनको पाठेघर भित्रको वजन जति सक्दो चाँडो काखमा सरोस्! त्यो पहिलो चित्कारले दिदिको बारबारको चीत्कारलाई शान्त बनाओस्, र दिदिले मुहारमा मुस्कान फुलाउन सक्नुहोस्!´ यस्तैयस्तै चिताएँ।

अनि जब अनिँधोले गलेको शरीर ओछ्यानमा पुग्यो, भुसुक्क निदाएछु।

ट्याक्क १:४० बजेतिर फोन बज्यो। व्युँझेर हतारिँदै रिसिभ गरेँ। "सुमन, ल बधाई छ तिमीलाई, तिमी मामा भयौ।" भिनाजुले गमक्क लवजमा सुनाउनुभयो।

एकदम खुसी भएँ। हतारिँदै "म आइहालेँ!" भन्दै फोन राखेँ र सोचेँ। हो त म मामा भएँ, दादा पनि मामा नै हुनुभयो, भाउजू माइजू हुनुभयो। लक्ष्मी/सरु/अनुजा दिदी ठुलोमामु हुनभयो। शंकर/दिनेश/सञ्जय भिनाजु ठुल्बा हुनुभयो। उता भान्जाद्वय हार्दिक र सजल दादा भए, भतिज इम्रन पनि दादा भयो, भने भान्जीद्वय लीमा र अन्ना दिदी भए।

सानो भिनाजु चैँ धरतीमा पदार्पित नव शिशुको बुबा हुनुभयो।  मुख्य कुरा त बच्चा जन्मिदै गर्दा दिदिले पनि नयाँ जन्म लिनुभयो- "आमा"। संसारमा सबैभन्दा जटिल काम नै आमा बन्नु हो र आनन्ददायी पनि। यस कर्ममा दिदी सफल हुनुभयो। उहाँ "मामु" बन्नुभयो।

 नर्मल अवस्थामै बेबी बर्थ गराउन सक्नुभयो। यसरी नयाँ खुसी हेर्न, देख्न र भेट्न हतारिँदै-अतालिँदै म अस्पताल पुँगे। सबैले सबैसँग गला मिलाएर `नव खुसी´को स्वागत गर्यौँ।

"कान्छे! मलाई बहुत बधाई!!  तिमी `कान्छे´ आमा मात्र भइनौ, म `कान्छे´ मामा पनि भएँ। अनि यिनी नव कान्छे मेरा भान्जा र तिम्रा छोरा भए।" दिदि पनि पीडाहरू भुल्न खोज्दै मुसुक्क कमल फुलिदिनु भयो।

कस्सम त्यतिबेला, मजति खुसी कोही भएन जस्तै लाग्यो, भिनाजु जति खुसी पनि कोहि भएन जस्तो लाग्यो। र दिदी मामु हुँदा उहाँजति खुसी झन कोही भएन जस्तो लाग्यो। यसरी हामी सबै `नव खुसी´ साक्षात्कार गर्न पाउँदा बराबरी धेरै खुसी भयौँ।

©सुमन भट्टराई।
😍😍😍