Wednesday, 24 June 2020

गजल 😍

केही दिन घरमा, केही दिन वनमा बस्नु!
राम लीला  बुझ्न रामकै आसनमा बस्नु!

सबैले  चिनुन्,  सबैले  चाखुन्- भन्छ्यौ!
दही   बन्नु,   दहीको    खर्पनमा    बस्नु!

पिंजडामा    थियो,    पिंजडामै    मर्यो!
आखिर कहिले  सम्म   बन्धनमा  बस्नु!

कमललाई   हेर्नु, अनि  पत्थरलाई  हेर्नु!
मान्छेले    मानवीय    वजनमा     बस्नु!

कोइली बन, गीत चैँ मलाई मात्रै सुनाउ!
सजिलो   छैन   मेरो   चिन्तनमा   बस्नु!

©सुमन।

Wednesday, 3 June 2020

`लकडाउन माझ- एक साँझ!!´

©सुमन भट्टराई।

घाम अस्ताउन लाग्दा उठेँ। अटेर गरेर झम्के साँझमा समेत सुतिरह्यो भने बिरामी भइन्छ रे, त्यसैले। उठेर पर्दा खोलेँ। आँखा मिच्दै बाहिर तिर हेरे। सूर्यदेव पश्चिमा सहरको ढोका ढक्ढक्याउन गए। अब गोधुली सुरु हुन लाग्यो। हावा खान छतमा जानुपर्यो।

`दिउँसो किन सुत्यो? राति सुत्दैन कि के हो?´ भन्नुहोला। कौतुहलता जाहेजै हो। राति पनि सुत्छु, अनि दिउँसो पनि। नौ बजे उठेर खाना बनाएर/खाएर, एकछिन टिभी हेरेर, थपिएका लासहरूको संङ्ख्या गनेर सुतेको हो बिहान। अनि अर्को पनि प्रश्न आउन सक्ला-`दिउँसै पर्दा चैँ किन लगाउँछ?´ पर्दा नलगाई त सुत्न पनि सक्नुपर्यो नि...! सुत्नु सुत्नुमात्रै हैन, निदाउनु पनि हो। कुरो बुझ्नुभो? म चैँ यसरी बुझ्छु सुत्नुलाई।

खैर!

उठेँ, छतमा गएँ। लकडाउन सुरु भएपछि रोपेका घिउसिमी, बोडी, करेला, काँक्रो, अनि दुई चार अरु लहरालुहुरी फल्न थालेछन्। देखेर दङ्ग परेँ। बिरुवाहरूको यात्रा त लकडाउनले रोकेको छैन। हामी मात्रै हो थन्किनु परेकाले तन्किन नपाएको। अँ, छत चैँ घरबेटी दाई-दिदीको। अनि अघि उल्लेखित तरकारीहरू पनि मैले हैन, उनीहरूले नै रोपेका।

खाने/सुत्ने पनि कहिले सम्म गर्नु? घरबाट बाहिर निस्किँदै ननिस्किएपछि कोरोनाको महामारीबाट त बचिएला तर प्रेसर, सुगर, बाथ लगायतका यावत् रोगहरूले सताउलान् भन्ने पीर। हृदयघातले पनि मान्छे मरेका मरेकै छन्। आफ्नो पनि त्यही हाल होला भन्ने त्रास। आत्महत्या गर्नेहरूको संख्या पनि ठूलै छ। धन्न मलाई चैँ अहिलेसम्म डिप्रेसन वा पागलपन सुरु भएको छैन र ज्युँदै छु। कसलाई के थाहा, भोलि के हुने हो!!

एकछिन छतमा टहलिएँ। पच्चीस पटक गन्ती गरेर पुसअप्स गरेँ। हिरिक्कै बनायो। यसो चारैतिर हेरेँ। घाँटी सफा गरेँ र देवेन्द्र बब्लुको `कसरी´ बोलको गीत जानि-नजानी गाएँ। तल्लो तलाबाट घरबेटि दाइ सुनिरहेका रहेछन्; जिस्क्याए-`ल भाइ ल! लकडाउन खुलेसि स्टुडियो गएरै रेकर्ड गराउनु पर्छ, मीठो छ स्वर।´ बुडाले कुन दिनको बदला लिए कुन्नि? मैले त केही अपत्यारिलो कुरो गर्या थिइनँ। यिनले पो किन गरे? नत्र त मेरो स्वर मीठो छैन, किन यसो भनेका होलान्? हुन त केही मानिसहरू काँडालाई पनि फूल देख्छन्। उनी पनि बहुत असल छन्, सायद त्यसैले मीठो लाग्यो होला कि! उनको कम्प्लिमेन्ट सुनेर म मुसुक्क हाँसे। हल्का लाज लाग्यो। त्यसैले त्यसपछि गाउन बन्द गरेँ।

जेठको महिना भए पनि चिसो हावा चलिरहेको छ। केहीबेर हावासँगै उड्न पाए पनि हुने...! तर कसरी? एकछिन टहलिएँ, टोलाएँ र पुनः ओर्लिएँ आफ्नै फ्ल्याटमा।

अब डिनर खाने काम बाँकी रह्यो। अमलेट बनाएँ, कफी बनाएँ। फ्रिजबाट दुईओटा गाँजर झिकेँ, तासतुस/काटकुट पारेँ। र डाइनिङ टेबलमा बसेँ। कस्तो शून्य समय! एक्लै चपाइरहँदा त आफ्नै दातको आवाज पनि कंकालहरू एक-अर्कासँग कुस्ती खेल्दै छन् कि जस्तै सुनिने रहेछ- ट्वाक्ल्याक-टुक्लुक/कर्याक-कुरुक!

अमलेटको पहेँलो भाग खाइनँ- आजकल रीस अलि बढि नै उठ्छ, प्रेसर बढ्यो कि भनेर। आफ्नो चिन्ता, अरुको चिन्ता,  देशको चिन्ता। दिमागले पनि कतितिर सोचोस्, कसरी धानोस्? धन्न कफी छ र सुर्का लगाउँछु, लामो सास तान्छु र मन थाम्ने कोशिस गर्छु। अख्खा...! झन्डै गाँजर सर्केको। मन भुलाउने बाटोहरू पनि अलि गतिला भेटिनु नि! जाबो गाँजर सर्केको कुरामा नि चिन्तन गरेर बस्नु पर्या छ।

बाथरुम गएँ, ब्रस गरेँ। अब बेडरुम छिर्छु, ल्यापटप निकाल्छु र ओर्ड फाइल खोल्छु। आज त मैले जसरी पनि लेख्नु छ एउटा कथा। यस कथाको अवधारणा फुरेको निकै दिन भइसक्यो, लेख्न अल्छी मानिरहेको छु। लकडाउनमा घरभित्रै बस्नु परेकोमा हरबखत गुनासो गरिरहने मलाई लेख्न त केही र कसैले रोकेको छैन त! झन मौका जुराइदिएको छ सरकारले। मान्छेको जातै यस्तै, गुनासो नगरी खाएकै नपच्ने। लौ त! अब गन्थन बन्द गरौँ र सुरु गरौँ कथा- `शरणार्थी!´

Saturday, 16 May 2020

कथा- `भालोबासा´

©सुमन भट्टराई।

केही समय पहिलेको कुरा हो- व्यवस्थापन संकायमा स्नातक गर्दै गरेको म ठमेलको एउटा होटलमा रिसेप्सनिष्टको रुपमा नोकरी पनि गर्थेँ। बिहानी सिफ्टको कलेज अटेन्ड गर्न सहज हुने गरी होटलमा रात्रीकालिन ड्युटी मिलाएको थिएँ। रातीको ड्युटी सकेर बिहानै कलेज जान्थेँ, र कलेज सकिने बित्तिकै हतार हतार गर्दै अस्पताल पुग्थेँ। दिनभर अस्पतालमा रहन्थेँ र साँझमा फेरि होटल जान्थेँ।

लगभग बिहानको एघार बजेको थियो। क्लास सकिएपछि कलेजबाट निस्किएर अस्पतालतिर लागेँ। सदा झैँ ऊ मेरै प्रतीक्षा गरिरहेकी थिई। म पुग्ने बित्तिकै मुसुक्क हाँसी, तर मुहार खासै उज्यालो थिएन। रुन्चे नै थियो। शैयामा सुतिरहेकी उसको नजिकै गएँ र हग गरेँ। बल्ल अलि उज्यालियो उसको अनुहार।

उसलाई राइस मन नपर्ने; अलिकति पनि खान सक्दिन थिई। त्यसैले लन्चमा रोटी र दालफ्राई खुवाएँ। उसको शैया छेवैको कुरुवा टुलमा बसेर होमवर्क गर्दा गर्दै मलाई निन्द्राले झप्प छोप्यो। केही घण्टा उसकै शैयामा टाउको राखेर निदाएँ।

४ बज्न लाग्दा नर्स आईन् र ब्युँझाईन्, "उहाँलाई अौषधि दिने बेला भो, खाजा खुवाउनु भयो?"

"सरी डक्टर, म निदाएछु। एकछिनमा आउनुस् न है? म उसलाई केही खुवाइहाल्छु।"

"खाजा के ल्याउँ, आश्मा?" उसलाई सोधेँ।

"जे ल्याए पनि हुन्छ, आलोक!" ऊ सुस्तरी बोली।

"के खान मन छ, भन त! मैले आज तलब लिएको दिन; मन लागेको खाने कुरा भन, म लिएर आउँछु।"

मेरो पहिलो महिनाको तलब आएको थियो त्यस दिन। उसको उपचारमा सहज होला भनेर नै मैले नोकरी गर्न थालेको थिएँ। यो नोकरी मैले हस्पिटालिटी सेक्टरमै काम गर्दै आएका गाउँकै एकजना दाईलाई अनुरोध गरेर बल्लतल्ल पाएको थिएँ।

खान बस्न त बुवा आमाले पठाएको पैसाले नै पुग्थ्यो मलाई। हाम्रो प्रेमको बारेमा उहाँहरूलाई मैले थाहा दिएको थिइनँ। र नोकरी गर्न थालेको कुरा पनि भनेको थिइनँ। यो कुरा उहाँहरूलाई भन्यो भने कि त `पढाइ बिग्रिन्छ नोकरी नगर´ भन्नुहोला कि चैँ पैसा पठाउनै छोड्नुहोला भन्ने डर थियो। तर यस्तो म कदापि चाहन्नथेँ किनकी नोकरी नगरी उहाँहरूले पठाएको पैसाले मात्रै खान बस्न सहित उसको उपचार सम्भव हुने थिएन।

"कति गर्छौँ आलोक तिमी मेरो लागि? अब म कहिल्यै ठिक हुँदिन। छोडिदेऊ मलाई।" उसले पिलिक्क आँसु झारी।

केही महिना अघि आएको महाभूकम्पमा परि उसको बुवा, आमा र भाइ सबैको ज्यान गएको थियो। ऊ भने धन्न-धन्नले बाँची। मेरुदण्डको तल्लो भागमा गहिरो चोट भएका कारण उसको शरीरका धेरै अङ्गहरू नचल्ने भएका थिए, जसकारण उसलाई प्यारालाइसिस भएको थियो। ठिक गर्न सकिने केही सम्भावना भएको भन्दै डक्टरहरूले उसलाई एक वर्षसम्म अस्पतालमै राख्न सुझाएका थिए। विचरीलाई कस्तो लेखेको रहेछ, कति कमजोर भएकी थिई। उसको यो हाल भएकै कारण शारीरिक रुपमा ऊ फुर्सदमा थिई; तर यस किसिमको फुर्सदमा मान्छेको मन र दिमाग भने एकदम अस्थिर र व्यस्त हुने रहेछ। सायद त्यसैले उसले `मलाई छोडिदेऊ´ भनेकी होली।

उसले यस्तो भनेको सुन्नै नसकेर थोरै आक्रोशित हुँदै मैले भनेँ, "तिमीलाई छोड्न सक्ने भए अहिलेसम्म म यो सब गरिरहन्थेँ? आइन्दा मेरो अगाडि यस्तो शब्द झुक्किएर पनि नबोल्नू!"

तलब थापेर सन्तोषपूर्ण अनुहार लिएर अस्पताल पुगेको मलाई उसले एकैछिनमा भावुक बनाई।

पुन: सम्हालिँदै "भन न, के खान मन छ?"भनेर सोधेँ।

"खान मन त पिज्जा छ तर धेरै पैसा खर्च हुन्छ; जाऊ- चिया र ब्रेड लिएर आऊ।"

"हुन्छ।" भनेर त्यहाँबाट निस्किएँ र पिज्जा नै लिएर आएँ। `महिनामा कमसेकम एक पटक त मन लागेको कुरा खान दिन सकूँ।´ सुरुमा त `किन ल्याउनुपर्थ्यो´ भनी तर एकैछिनमा खुसीले पुलकित भई र मीठो मानेर खाई।

मैले पनि आफ्नो भोकाएको पेट ऊसँगै भरि पारेँ।

यसरी हरेक प्रेम जोडीको डेटिङ स्पट बार हुँदैन, गेष्ट हाउस वा रुफटप रेष्टुरेन्ट पनि नहुन सक्छ। कसैको प्रेम साटासाट गर्ने स्थान त अस्पताल पनि हुनसक्छ।

.......

एकदिन म सैलुनमा थिएँ। आफ्नो कपाल कटाउने पालो कुरेर कान्तिपुरको हेडलाईनतिर चाहार्दै थिएँ। म भन्दा अगाडि एउटा १३/१४ वर्षको भाइ आधा कपाल काटिएको अवस्थामा थियो। त्यसैबीच कैँची चलाइरहेका हजाम दाइ कैँची फ्यालेर उफ्रिँदै सैलुन बाहिर निस्किए र भाग्न थाले। आधा टाउको मुडुलै लिएर त्यो भाइ पनि हजामकै पछिपछि दगुर्यो। आरामदायी कुर्सीमा बसिरहेको हुनाले सुरुमा त मैले केही मेसो पाईँन। र पनि के भएछ भन्ने कौतुहलताका साथ उनीहरुकै पछि पछि दगुरेँ।

ठ्याक्कै सैलुन अगाडिको सडकमा पुग्दा नपुग्दै सडक जुरुक्क उचालियो। बल्ल पो थाहा भयो- भूकम्प आएको रहेछ। एकैछिनमा यसले भयानक रुप लियो। अचेतनमै अगाडिको बिजुलीको पोल समात्न पुगेछु, धन्न करेन्ट त आएको थिएन। त्यसलाई पक्रिरहनु एकदम खतरापूर्ण भने अवस्य थियो। र पनि त्यहाँबाट भाग्न सकिनँ किनकी हात छोड्ने बित्तिकै म सडकमा पछारिने थिएँ। छैउमै लुखुरे पिल्लरको भरमा उभिएको प्रतीक्षालय थियो, जुन अहिले भर्खरै भाचिउँला जसरी हल्लिरहेको थियो। वरिपरिका भवनहरू पनि मेरै टाउको माथि खसुँला जसरी सडक वारिपारी पिङ खेलिरहेका थिए।

उता सैलुनका दाइ सडकमै पछारिएछन्, उनको टाउकोबाट रगत बगिरहेको थियो। हुन सक्छ उनी बेहोस भएका थिए र सायद मृत नै। हल्लिन अलिक कम भएपछि म खुला मैदानतिर भागेँ। यस्तो बेला आफ्नो भन्दा बढि अरुको माया नलाग्दो रहेछ र आफूभन्दा सिवाय अरुमाथि ध्यान पनि नजाँदो रहेछ। जीवनमा पहिलो पटक यति ठूलो भूकम्प महसुस गर्दैँ थिएँ र आँफै अगाडि त्यस्तो अवस्थामा ढलिरहेको अर्को व्यक्ति यानिकी हजाम दाईको पुरै बेवास्ता गर्दै भागिरहेको थिएँ। अरु बेला त यति स्वार्थी म कहिल्यै थिइनँ। कहिलेकाहीँ परिस्थितिले पनि मान्छेलाई निर्दयी बन्न बाध्य पार्दो रहेछ।

सामाखुसी बस्ने म त जसोतसो बाँचेँ। उता टोखा बस्दै आएकी आश्माको हालत कस्तो होला? कम्पन कम हुने बित्तिकै सम्झिएको पहिलो अन्तरव्यक्ति ऊ नै थिई। मोबाइल निकालेँ र फोन गर्न खोजेँ। नेटवर्क काटिएको रहेछ। बुबाआमालाई कस्तो होला? यादहरुको तालिकामा दोस्रो स्थानमा उपस्थित भएका पात्रहरू।

निकैबेरसम्म कतै सम्पर्क हुन नसकेपछि हतासिँदै म टोखातिर लागेँ। ठाउँठाउँमा रोडै छेकिने गरि घरहरू भत्किएका, बिजुलीका पोलहरू ढलेका तथा तारहरू चुट्टिएका दृश्यले मन झनै अतालियो। मानिसहरूको भिडभाड सडक तथा खालि स्थानतिर कोलाहलपूर्ण थियो। यद्यपि यी सबै दृश्यहरू भन्दा मलाई उसको अवस्थाबारेको चिन्ताले बढि तानिरहेको थियो।

उसको घर अगाडि के पुगेको मात्रै थिएँ, मेरो होसहवास उड्यो। थुचुक्क बस्न पुगेछु। उसको घर पूर्ण रुपमा भत्किएको थियो। त्यसैक्षण मेरा हालगोडा लल्याक लुलुक भए। जसोतसो उठेर नजिकै गएँ। सामान्य घरमा सस्तो भाडामा बस्दै आएकी ऊ मूल ढोकामा कम्मर भन्दा तल थिचिएको र माथि रगताम्मे अवस्थामा ढलिरहेकी थिई।

त्यहाँ नजिकै कोही देखिँदैन थिए। अलिक पर खुला चौरमा मान्छेहरूको ठूलै झुण्ड देखेपछि म त्यतातिर लागेँ र गुहार मागेँ। एकजना अधबैंसे दाइ सहयोग गर्न राजी हुनुभयो, र आफ्नो बाईक लिएर आउनुभयो। इँट्टा र सिमेन्टले थिचिएको अवस्थाबाट उसलाई जसतसो निकाल्यौँ। कम्मरभन्दा तल कच्याककुचुक कुच्चिएर हेरि नसक्नु थियो। उचालेर बाइकको बिचमा राख्यौँ र हतारिँदै टिचिङ हस्पिटल पुर्यायौँ। भोलिपल्ट बिहान मात्रै उसको होस आयो। अघिल्तिर मलाई देखेर थोरै भए पनि ढुक्क भई।

मोबाइलले नेटवर्क देखाउने बित्तिकै घरमा फोन गरेँ। भूकम्पको केन्द्रविन्दु धेरै टाढा भएकाले गाउँतिर धन्न खासै असर परेनछ। बुवा आमा सबै ठिकै हुनुहुँदो रहेछ। अहिले सम्म मेरै चिन्तामा छट्पटाइरहनु भएको थियो रे।

उता उसको परिवारको अवस्था चैँ कस्तो होला? गोर्खा घर भएकी ऊ होस आएदेखि नै परिवार सम्झेर आत्तिन थाली। उसको मोबाइल मागेँ र उसको बुवाको नम्बरमा फोन गर्न खोजेँ तर लागेन। `गाउँकि छिमेकी दिदिको नम्बरमा फोन गरेर बुझ्नु त´ भनेर उसले नै सुझाए पछि मैले उनको नम्बर डायल गरेँ। उनी बोल्नै सकिनन्। रुँदै `सबै बर्बाद भो बाबू, सबै सकियो´ भनिन्।

मैले उनीसँग लाउड स्पिकर गरेरै बोलिरहेको हुनाले आश्मा उनीसँगको सबै फोनबार्ता आँफै पनि सुनिरहेकि थिई। यसरी उसले उसका बुवा, आमा र भाई सबैलाई गुमाई। ऊ यति रोई; सायद साथमा म थिइनँ भने रोएरै मर्थी होला। अब उसको न घर बच्यो, न त परिवार नै। मलाई लाग्यो- अब केवल म मात्रै बाँकी रहेँ उसको आशाको दीयो।

.......

अनि अघि ऊ भन्दै थिई कि `म ठिक हुँदिन, मलाई छोडेर जाऊ।´ म चैँ के उसलाई छोडेर ठिकठाक रहन सकुँला?

यसरी नै दिनचर्या चलिरहेको थियो। लगभग एक वर्ष भयो, उसको डिस्चार्ज हुने दिन पनि नजिकिँदै आयो। अस्पतालबाट मुक्ति पाउन लाग्दा खुसी हुनु त पर्ने थियो तर अौषधि, थेरापी र उपचारका अनेक तरिकाहरू अपनाए पनि उसको स्वास्थ्यमा खासै सुधार आउन नसकेकाले मनमा चिसो बाँकी नै रह्यो। उसको शारीरिक अपाङ्गता जीवनभर रहने भयो। `बिचरीको मनमा यतिबेला के बितिरहेको होला!´

उसले डिस्चार्ज हुने दिन फेरि भनेकी थिई, "मलाई कतै मान्छेको भिडभाड बढि हुने सडक किनारामा लगेर छाडिदेऊ, आलोक! जतिञ्जेल बाँच्छु, मागेर खाउँला।"

म एकदम रिसाएँ, "बारम्बार एउटै कुरा कति गर्छौ? त्यसरी छोड्ने भए यत्रो वर्ष दिनसम्म तिमीलाई रुँगेर बस्थेँ? चाहिने नचाहिने कुरा नगर।"

"म तिम्रो बोझ कतिञ्जेल बनौँ त नि, भन त?" ऊ रुन्चे अनुहार लगाउँदै फेरि बोली।

मन एकाएक कुँडियो। सम्हालिन खोज्दै भनेँ, "मेरो कोठा छ त, त्यहीँ बसौँला जसो तसो। सँगै बाँचौँला आधा-आधा। म तिम्रो साथमै छु, आस्मा। जसरी चल्छ, चलाउँदै लगौँला। मलाई विश्वास गर आश्मा, आई विल नेभर लेट यु डाउन। म तिम्रो साथ कहिल्यै छोड्ने छैन। तिमीलाई थाहा छ नि, म आफूभन्दा बढि तिमीलाई माया गर्ने भएको छु।"

प्रेमले यही त खोज्दो रहेछ, सच्चा मन भएको सहयात्री। उसको लागि म र मेरो लागि ऊ। हुनसक्छ- एकअर्काकै लागि हाम्रो जन्म भएको थियो। सायद त्यसैले ऊदेखि छुट्टिएर टाढिने त मैले कल्पना नै गर्न सकिनँ।

त्यसपछि फेरि कहिल्यै झगडा गरेनौँ, सकेसम्म एक अर्काको दिल दुखाएनौँ। उसलाई ह्विल चियरमा राखेर बेला बेला म सहर घुमाउँथेँ। शिरीषको फूलको सुगन्ध मन पराउने ऊ खालि शिरीषकै शितलता खोज्थी। बेला बेला म आफ्नै अंगालोलाई शिरीष बनाइदिन्थेँ। ऊ ठुस्किन्थी र एकैछिनमा फेरि मुस्कुराइहाल्थी। आफ्नै दिलसम्म पुग्न सके खुसी भेटिने रहेछ। अन्त टाढा कहाँ जानू पर्ने रहेछ र खोज्न!

........

बुवा आमाले भूकम्पको बेला पशुपतिनाथसँग भाकल गर्नु भएको थियो रे `हाम्रो छोरालाई बचाइदेऊ प्रभू´ भनेर। दर्शन गर्न काठमाडौँ आउनुभयो। मेरो कोठामा उसलाई देखेर एकछिन त अलमल्ल पनि पर्नु भयो। सबै बेलिबिस्तार लगाए पछि "हामीलाई तिमीमाथि कुनै गुनासो छैन बाबु, यस्तो धर्मात्मा छोरो जन्माएका रहेछौँ, हामीलाई तिमी प्रति गर्व छ।" भन्नू भयो र भावुक हुँदै आमाले आश्माको निधारमा मुसार्नु भयो। बुवाले उसको शिरमा हात राखेर स्वास्थ्य लाभको कामना गर्नु भयो। उसको `बुवाआमाको स्वर्गमा बास होस्´ भनेर प्रार्थना पनि गर्नुभयो।

उहाँहरू काठमाडौँ आउनु भएकै मौका पारेर आश्मा र मैले बिहे गर्यौँ। चारै जनाले बिहानै नुहायौँ, केही सामान्य बिहे सरदाम ठिक पार्यौँ र गुहेश्वरी मन्दिर गयौँ। उसलाई ह्विल चियरमै राखेर मन्दिरको सात फेरो लगाएर सात जुनी सँगै जिउने कसम खाएँ मैले। हाम्रो जीवनको सबैभन्दा सम्झन लायक दिनहरूमध्ये एकदिन यो पनि बन्यो।

बुबाआमालाई पनि बुढेसकालले गलाउँदै लगेको र स्वास्थ्य पनि खराब बन्दै गएका कारण दुर्गम गाउँमा जीवनयापन गर्न त्यति सहज नहोला भनेर गाउँ फर्किनँ दिएनौँ। आजकल हामी सबै सँगै छौँ, एकदम खुसी छौँ।

आश्मा पनि अब त बानी परेकी छे। दुःखी कम र खुसी ज्यादा हुन थालेकी छे। म उसको जीवनसाथी र मेरा बुवा आमा उसका पनि बुबा आमा हुनुभएको छ। उसको हेरचाहमा आमा खटिरहनु हुन्छ। ऊ ह्विल चियरमै यताउता गर्छे। भूकम्पपछि रोकिएको उसको पढाइले फेरि निरन्तरता पाएको छ। खालि समयमा भने प्रेमिल उपन्यासहरू पढ्छे। एकदिन उसले ड्यानियल स्टीलको `पालोमिनो´ पढ्दै गर्दा मलाई भनेकी थिई, "यस उपन्यासको प्रमुख पात्र मलाई ठ्याक्कै तिमी जस्तै लाग्यो।" सक्दो माया दिएर हरबखत ऊ मलाई मख्ख पार्न खोज्छे।

अब मेरो पढाइ सकिइसकेको छ। अहिले म त्यसै होटलको म्यानेजर भएको छु। भगवानको कृपाले सबै ठिकठाकै चलिरहेको छ। ऊ मलाई श्रीमान कम र मित्र ज्यादा ठान्छे।

"आमी तोमाके भालोबासी, सामी!"
"आमी तोमाके आरो भालोबासी, स्त्री!!"

अहिले भर्खरै उसले मलाई बंगाली भाषामा `म तिमीलाई प्रेम गर्छु, बुडा´ भनी। मैले पनि `म तिमीलाई झन धेरै प्रेम गर्छु, बुडी´ भनिदिएँ। एकअर्का प्रति प्रेम दाखिला गर्न हामी अरुभन्दा बंगाली भाषा बढि प्रयोग गर्छौँ। कारण- बंगाली उसको फेबरेट भाषा। उसको फेवरेट भएपछि मेरो पनि फेवरेट। अनि ठट्टा र प्रेम संगै मिसाएर बोल्दा बंगाली भन्दा मीठो अरु कुनै भाषा सुनिन्छ र? हा...हा...हा यसबारे हामीलाई खासै जानकारी छैन।

खोज्यो भने चित्त बुझाउन र खुसी हुन प्रशस्तै बाटोहरू भेट्न सकिने रहेछ। यत्ति हो- उसलाई जस्तो अरू कसैलाई नपरोस्। परिहाले पनि भगवानले सबैलाई उसलाई जस्तै सासू ससुरा र श्रीमान जुराइदिउन्।

(यस कथाको वाचन सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला।)

                                                                              .......समाप्त.......

Sunday, 10 May 2020

कथा- "चमेली"

"चमेली, तिमी त मनग्गे मोटी पो भइछ्यौ?"

"आजकल खानेकुरामा फेरबदल भएको छ, भाउजु।"

"पेट पनि निकै ठूलो पो देख्छु त!"



अब भने चमेलीको बोली घाँटीभन्दा तलै अड्कियो। माथि निस्किएन। उसलाई आपतै पर्यो।

तृष्णा भाउजुका प्रश्नहरू अक्सर तीखो र रुखो नै हुने गर्थे। आफू धर्म-संस्कारमा बसेको मान्छेले संस्कार मिच्नेलाई घृणा त गर्ने नै भयो। सकेसम्म मिच्न नैँ दिँदैन। यही एउटा कारण थियो जसले गर्दा तृष्णा भाउजुको तीरले यस पटक चमेलीलाई घोच्यो।

चमेली `के गरूँ, कसो गरूँ र कहाँ भागूँ´ भन्ने जटिल परिस्थितिमा गुज्रिरहेको बेला तृष्णा भाउजू फेरि खन्निइन्,"के तिमीलाई पनि बकाइनोसम्म पुग्ने रहर छ?" गाउँको फेदीको बकाइनोमा हालसम्म एघार जना पासो लागिसकेका थिए। र झुण्डिनेहरू मध्ये अधिकांश अविवाहित गर्भवतीहरू थिए। `बाह्रौँ बहादुर कतै चमेली नै त हुने हैन?´

"कुरा के भने नि भाउजू…"

चमेलीको कुरा बीचैमा काट्दै तृष्णा भाउजू बोलिन्,"`ग्याष्ट्रिक भयो, मैदाको सेल खाएर पेट ढाडियो, आज खानामा चिल्लो बढि भएर´ जस्ता बकम्फुसे कुराहरू मसामू चल्दैन, चमेली!" उनी चर्किँदै गइन्,"पुरै गाउँ हल्लाले गनाउनु अघि कुरोलाई टुङ्गो लगाइसक्नु पर्छ। को हो त्यो राक्षस? हामीलाई भन, हामी आमा समूहका महिलाहरू मिलेर ठिक पार्छौँ। कि मिलेमतोमै भा'को हो सब? हो भने पोइल गैजाऊ!"

चमेलीको मुख थर्थराई मात्रै रह्यो, केही आवाज निस्किएन। बरू आँखाबाट आँशुको लर्कोले जमिनतिरको यात्रा तय गर्यो।

"सधैँ शक्तिहीन भनेर त्यसै हेप्दैनन् पुरुषले हामीलाई! प्रतिरोध/प्रतिरक्षा गर्न सक्ने सामर्थ्य थिएन तिमीमा? थुक्क, लाचार केटी! सन्नीमा बजाएर भाग्न सकेनौ?" सायद चमेलीको आँशुको भाषा बुझिन् भाउजुले, "भन्छौ कि त्यस पापीलाई हामी नै पत्ता लगाऊँ?"

अन्तिममा चमेलीको सानो स्वर काँप्दै निस्कियो, "भिनाजु…"

"तिम्रा पाँच वटा भिनाजु छन्; कुन चाहिँ?"

"काइँलो… भिनाजु…"

"ए… त्यसो पो? ठिक छ, अहिले घर जाऊ, बाँकी कुरा साँझ समूह भेलामा राखौली!"

"प्लिज भाउजू, म हजुरसामू हात जोड्छु, बरु हजुरको खुट्टा समाउँछु। यो कुरा बाहिर नलगिदिनू!"

"अनि त्यो पेटलाई चैँ के गर्छेस्?" अहिले त भाउजुले तँ  भनेरै गाली गरिन्।

"जेसुकै गरूँ, तर प्लि…ज यो कुरा कसैलाई नभनिदिनु्स्, मलाई त्यसले मार्छ! `कसैलाई भनिस् भने मारेर फ्याँकिदिन्छु´ भनेको छ।"

"अनि के कसैलाई नभने चैँ तँ बाँच्छेस्? गाउँका अन्य आत्महत्याका घटनाहरू भुलेका छैनौँ हामीले। यो कुरा गोप्य राख्न खोज्यो भने त्यो भन्दा गतिलो गन्तव्य भेट्दैनौ चमेली तिमीले। हामी महिलाहरू मिलेर तिमीलाई न्याय दिलाउने कोशिस गर्नेछौँ। चिन्ता नगर अब!"

पानी पँधेराको उनीहरूको कुराकानी यसरी टुङ्गियो।

………

आमा समूहकी अध्यक्ष तृष्णा श्रेष्ठले त्यसै साँझ समूह भेला डाकिन्। महिलाहरूको लर्को चमेलीको घरतिर तेर्सियो। त्यहाँ पुग्दा चमेली घरमा नभएको कुरा उनकी आमाले बताइन्। `कहाँ गइन्´ भनेर सोध्दा टिमुर्किएको आवाजमा `था'छैन´ भन्ने जवाफ दिइन्।

चमेलीकि आमाको अनुहारमा इमान्दारिताको संकेत थिएन, जुन सायद तृष्णा भाउजुले थाहा पाइन्। उनले समूह सदस्य रेस्मा गुरुङलाई अह्राइन्,"जाऊ त रेस्मा, माथि बुइगलमा गएर हेर!"

चमेलीकी आमाले बुरुक्क उफ्रेर चर्किँदै भनिन्, "मेरो छोरीको बारेमा तिमीहरूलाई के को चासो? यत्रो चिन्ता किन? मेरी छोरीले जेसुकै गरोस्, मरोस् कि बाँचोस्! तिमीहरूलाई के को मतलब?"

यतिञ्जेल चमेलीका बाउ केही बोलेका थिएनन्। पुर्पुरोमा हात लगाएर आँगनको डिलमा टुक्रुक्क बसिरहेका थिए। उनको घरमा उनको भन्दा उनकी श्रीमतीको हैकम ज्यादा चल्थ्यो। सबै कुरामा त चुपचाप साथ दिएकै थिए; तर अहिले भने उनलाई आफ्नी श्रीमतीले छोरीको बारेमा समाजलाई सहयोग गर्न नदिएको पटक्कै चित्त बुझेन। भर्याङमा अड्को थापेर बसिरहेकी श्रीमतीलाई हुत्याउँदै पन्छाएर उनी बुइगलतिर उक्लिए। श्रीमती कराउन छोडेकै थिइनन्। यद्यपि त्यसको प्रवाह नै नगरी उनी बुइगल पुगे र चमेलीलाई हातमा समातेर जबर्जस्ति तान्दै लिएर आए।

समूहमा छलफल/परामर्श सुरु भयो। तृष्णा भाउजू बोलिन्, "घटनाको प्रकृति र विवरण नबुझी हामी निष्कर्षमा पुग्न सक्दैनौँ। त्यस पल के भएको थियो, चमेली? समूहसमक्ष सबै बताऊ।"

एकछिन त चमेलीलाई घबराहट भयो। ऊ अकमकाई। मौन बसेर आँसु खसालिरही। फेरि झर्केर तृष्णा भाउजुले "चमेली!" भनेपछि कहाँबाट चमेलीमा साहस र बिद्रोह उत्पन्न भयो; नाक र आँखा पुछी र स्याँक्क गरी। "थुइय्या!" भन्दै जमिनमा थुकी र आफ्नै गालामा जोडसँग एक झापड हिर्काई।

त्यसपछिको उसको बोली जस्ताको त्यस्तै-

"कुरा लगभग साँढे पाँच महिना अगाडिको हो। तीजमा दिदिलाई लिन भनेर दर खाने भन्दा ठिक दुई दिन अगाडि म उहाँको घर गएको थिएँ। त्यसदिन साँझमा पुग्ने र भोलिपल्ट बिहानै दिदिलाई लिएर फर्किने मेरो योजना थियो। उहाँको घर पुगेर साँझको खाना खाइसकेपछि म मलाई देखाइएको सुत्ने कोठामा गएँ र सुतेँ। दिनभरि हिडेको थकानले होला एकछिनमै भुसुक्क निदाएछु। पिसाबले च्यापेकाले म आधारातमा ब्युँझिएँ। उठेँ र चर्पी गएँ। चर्पी घरबाट २५/३० मिटरको दुरीमा खोल्सातिर थियो। चर्पीबाट के निस्केको मात्रै थिएँ, अगाडि भिनाजु भनाउँदो उभिइरहेको रहेछ। सुरुमा त उसलाई पनि चर्पी लागेर आएको होला भन्ने सोचेँ। तर कुरा अर्कै रहेछ। मेरो बाटो छेक्यो र हात ट्याप्प समात्यो। म झसङ्ग भएँ। हात झट्कारेर खुस्काउन खोजेँ तर सकिनँ। भाग्ने प्रयास पनि सफल हुन सकेन। उसले मलाई चर्पीतिरै ठेल्यो र आफू पनि भित्र पसेर चुक्कुल लगायो। अहिलेसम्ममा उसले पछाडिबाट मेरो शरीर समात्न भ्याइसकेको थियो। म चिच्याउन खोजेँ। मेरो मुख उसको हत्केलाले जोडसँग टाल्यो र `धेरै कराइस् भने यहीँ घाँटी थिचेर मारिदिन्छु´ भन्यो। मैले सोचेभन्दा बलियो भएकै कारण मैले उसको पकड खुस्काउनै सकिनँ। उसको पञ्जाबाट म फुत्किनै सकिनँ। म एकदम आत्तिएँ तर निरीह हुँदै सबै स्विकार्नुको बिकल्प रहेन। उसले मेरो इज्जत लुट्यो। निधारको पसिना पुछ्यो र त्यहाँबाट निस्किने बेला भन्यो, `यो कुरा कसैलाई भनिस् मात्रै भने म तँलाई बाँकी राख्दिनँ!" सही नसक्नु पीडाका बाबजुत पनि म जसोतसो ओछ्यानमा पुगेँ र ढलेँ। अनेक सम्झेर बाँकी अन्धकार कटाएँ। सुनेको थिएँ पहिलो सम्पर्कमै बच्चा बस्दैन। जे हुन त भैगयो, अब अर्को पटक आफूमाथि फेरि यस्तै दुर्घटना घट्न दिन्न भन्ने सोचेर चित्त बुझाउन खोजेँ। चुप रहन खोजेँ। तर मेरो महिनाबारी हुने बेला बितिसक्दा समेत मलाई महिनाबारी भएन, पेट बढ्न थाल्यो। आज तृष्णा भाउजुको आश्वासन नपाएको भए सायद म बकाइनोसामू नै गुहार माग्न पुग्थेँ होला।" यति भनिसकेर चमेली डाँको छोडेर रोई।

केही बेरको चकमन्नता पछि समूहकी सचिब राधा मिश्रले सोधिन्, "तिम्रो भिनाजु भनाउँदोको घर कहाँ हो रे?"

"रेसमचौर," चमेली लामो सास तान्दै बोली। सायद उसलाई लागेको हुँदो हो, "अब न्याय अवस्य पाइन्छ।"

"ल ठिक छ! आवेशमा आएर गलत कदम नचाल्नू। अब तिम्रो साथमा हामी छौँ। ढुक्क हुनु- तिमीले न्याय र तिम्रो भिनाजुले जरुर सजाय पाउने छ। ल है त? पर्सिसम्म हामी केही गरिसक्छौँ।" यति भनेर समूहका महिलाहरू आफ्नो आफ्नो घर गए।

………

भोलिपल्ट बिहानै चमेलीका बुबा र भाइ रेसमचौर तिर लागे। यो सबै समूहको सल्लाह अनुसार नै भइरहेको थियो।

छोरीज्वाईँको घर पुगेपछि सामान्य सम्बोधनपश्चात चमेलीका बुबाले भने, "निको-पर्सि चमेलीको बिहे छ, हामी त हजुरहरूलाई निम्ता गर्न र लिन भनेर पो आएका।"

सुरुमा चमेलीको भिनाजु भनाउँदो केही अकमकाए पनि एकछिन खै के के सोचेर उसले निम्ता स्विकार गर्यो। भोलिपल्ट बिहानै उनीहरू गन्तव्यतिर प्रस्थान गरे।

ससुराली घर पुग्दा नपुग्दै अदृश्य रुपमा चारैतिर घेरा हालेर बसेका प्रहरीहरूले भिनाजु भनाउँदोलाई फन्दामा पारे। (यो सब चाँजोपाँजो समूहका महिलाहरूले दिउँसै मिलाइसकेका थिए। प्रहरीलाई रिपोर्ट लेखाउन र डाक्न उनीहरू नै गएका थिए।)

यसरी चमेलीलाई न्याय दिलाउने कोशिस गरियो। भिनाजुले १२ लाख क्षतिपूर्तिस्वरुप जरिवाना रकम चमेलीलाई तिर्नुपर्ने र ५ वर्ष जेल सजाय भोग्नुपर्ने भयो।

सायद सम्पतिवाल भएकाले उसले प्रहरीको नियन्त्रणमै रहेर पैसा जुटाउन सक्यो र चमेलीलाई तिर्यो। त्यसपछि उसको जेल बसाई सुरु भयो। यता चमेली केही हदसम्म राहत महसुस गर्न थाली। आमा समूहकै सल्लाह बमोजिम उसलाई उसका बाउआमाले राम्रो स्याहार गरे।

र केही महिना पछि म जन्मिएँ।

………

सायद आत्मग्लानी र तिरस्कारको भयले होला, चमेलीको भिनाजु अर्थात मेरो ठूलोबाउ उर्फ बाउले जेलबाट छुट्कारा पाएकै दिन आत्महत्या गरेछ।

केही दिनपछि ठूलीआमालाई पनि हजुरबुबाले आफ्नै घरमा लिएर आउनुभयो। उहाँ हरबखत टोलाइरहनु हुन्थ्यो। एक बिहान घाम निकै माथि आइसक्दासम्म उहाँ उठ्नु भएन। आमाले मलाई "रुपा! ठुलीआमा त अझैसम्म उठ्नु भएन। सञ्चो पो भएन कि? जा त हेर," भनेर पठाउनुभयो। मैले उहाँलाई कोठामा देखिनँ। त्यसपछि हामी सबैजनाले घरभरि खोज्यौँ। उहाँ घर वरपर कतै फेला पर्नु भएन।

हजुरबुबाको मनमा तीतो शंका उत्पन्न भयो। आँगनको डिलमा जानुभयो र तलतिर हेर्नुभयो। गाउँको फेदीको बकाइनोमा एउटा मानव आकृति झुण्डिरहेको देखिन्थ्यो। यो देखेर हजुरबुबा लल्याकलुलुक हुनुभयो। ठूलीआमा त पासो लाग्नुभएछ। परिवारमा एक व्यक्ति मतिभ्रष्ट हुँदा हाम्रो सारा परिवार तहसनहस भयो।

मेरी आमा भने यता त्यतिबिघ्न दु:खी देखिनु हुन्थेन। हुन त उहाँ मज्जाले रमाएर हाँसेको पनि मैले आजसम्म देखेको छैन। र पनि उहाँले ठूलीआमा मर्दा एकै थोपा आँसु झार्नु भएन। चुपचाप रहनु भयो। सायद समयले उहाँलाई थेत्तरो बनाएको थियो। मलाई यो पनि याद छ- भिनाजुसँगको अप्रिय दुर्घटनापछि आफ्नो जीवनभर उहाँले न त कुनै दिन कुनै पुरुषसँग बोल्नु भयो, न त हेर्नु नै भयो।

धन्न म चैँ उहाँको कोखबाट छोरी भएर जन्मिएँ!


©सुमन भट्टराई।



Thursday, 7 May 2020

भ्यागुताहरू

भ्यागुताहरूका लागि कुवा नै समुन्द्र। सम्पूर्ण भूगोल नै कुवा हो। वल्लो छेउको भ्यागुतो `म ठूलो हूँ´ भन्छ। पल्लो छेउको भ्यागुतो पनि झुक्न चाहँदैन। कुनै दिन भ्यागुताहरूको दिलको कुवामा घाम लाग्यो भने ट्याप्याक्कै मिल्छन् पनि। फेरि यस्तो दिन पनि आउँछ, उनीहरूकै मनलोकको चट्याङले छुट्याउन खोज्छ उनीहरूलाई। टुक्रिन्छन्, छुट्छन्, तहसनहस हुन्छन्। वरिपरिका अरु ससाना माछाहरूलाई उनीहरूको उचाली-पछारी कुनै सर्कसको जादूभन्दा फरक लाग्दैन।